२०८३ कार्तिक १ शनिबार

नवौँ नवलपुर महोत्सव कात्तिक ९ देखि, मुख्य आकर्षण आइफिल टावर देखि मिस नवलपुरसम्म

नवलपुर- नवलपुर उद्योग वाणिज्य संघको भवन निर्माणार्थ नवौँ नवलपुर महोत्सव आयोजना हुने भएको छ। ‘पर्यटन, कृषि, उद्योगमा सहभागिता, समृद्ध नवलपुरको नवौँ महोत्सवको उपयोगिता’ भन्ने मूल नाराका साथ कात्तिक ९ देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो।

कावासोती नगरपालिका–२ स्थित नवदुर्गा खेलमैदान, भाट्टोलामा महोत्सव सञ्चालनको तयारी गरिएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

महोत्सवमा जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनीका साथै मिस नवलपुर फेसन प्रतियोगिता–२०८३, देउसीभैलो प्रतियोगिता, ममी डान्स प्रतियोगिता तथा आमा समूहबीच डोरी तान्ने प्रतियोगितालगायत कार्यक्रम सञ्चालन गरिने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले जानकारी दिनुभयो।

महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, आदिवासी जनजाति तथा विभिन्न जातजातिका मौलिक भेषभूषा, कला र संस्कृतिको प्रदर्शन गरिनेछ। त्यस्तै, मौलिक खाना तथा परिकार, बाल उद्यान, दुग्धजन्य पदार्थ तथा प्रविधि र हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा राखिनेछन्।

महोत्सवको विशेष आकर्षणका रूपमा आइफिल टावरको संरचना र आकर्षक प्रवेशद्वार निर्माण गरिने अध्यक्ष पोख्रेलले बताउनुभयो।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा व्यावसायिकतर्फ १५०, कृषि प्रदर्शनीतर्फ १०, अटो क्षेत्रका १० तथा खाना र खाजाका १५ गरी कुल १८५ वटा स्टल रहने आयोजकले जनाएको छ।

संघको भवन निर्माणका लागि आयोजना गर्न लागिएको महोत्सवमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई विशेष सम्मान गरिनेछ। महोत्सव अवधिभर करिब ६० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र करिब एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।

महोत्सवमार्फत नवलपुर लगानी सम्मेलनको प्रचारप्रसार, स्थानीय भेषभूषा तथा संस्कृतिको प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकको अपेक्षा छ। महोत्सवको अवसरमा जिल्लाका ठूला होटलमा विशेष छुट तथा जंगल सफारीमा सहुलियतको व्यवस्था गर्ने योजना पनि रहेको छ।

त्यस्तै, युवा उद्यमशीलताको विकास, बेरोजगार युवालाई स्वरोजगार बन्न प्रेरित गर्ने तथा लोपोन्मुख मौलिक कला र संस्कृतिको संरक्षण र व्यावसायिक विकासमा महोत्सवले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। नवलपुरमा पर्यटनका सम्भावना पहिचान गरी लगानीकर्ता आकर्षित गर्न तथा जिल्लालाई आर्थिक र औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने सरकारी अध्ययन कार्यान्वयनका लागि दबाब सिर्जना गर्नसमेत महोत्सव उपयोगी हुने आयोजकको विश्वास छ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग र व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यसमेत महोत्सवले लिएको छ। जिल्लाका प्रमुख पर्यटकीय तथा सम्भावित गन्तव्यहरू धौवादी फलाम खानी, गैँडाकोटको केबलकार, वाल्मीकि आश्रम, त्रिवेणीधाम, त्रिकन्या माई, कुमारवर्ती माई, धौवादीको एकीकृत बस्ती, लालीगुराँस क्षेत्र तथा देवचुली डाँडाको प्रचारप्रसारलाई पनि प्राथमिकता दिइने अध्यक्ष पोख्रेलले बताउनुभयो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।