२०८३ भाद्र १८ बिहीबार
कावासोती- रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै कावासोती नगरपालिकाले यस वर्षको हरितालिका तीज पर्व सादगीपूर्ण रूपमा मनाउन अपिल गरेको छ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालले शुक्रबार अपिल जारी गर्दै विपद्का कारण धेरै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा अपूरणीय क्षति पुगेको अवस्थामा तीजका अवसरमा गरिने तडकभडकले पीडित परिवारमा थप असर पर्न सक्ने बताएका छन्। 
 
नगरपालिकाले सार्वजनिक स्थान, पार्टी प्यालेस लगायतका स्थानमा गरिने औपचारिक तथा अनौपचारिक तडकभडकसहितका कार्यक्रम नगर्न आग्रह गरेको छ। नगरपालिकाले तीज पर्वलाई आ–आफ्नो घरपरिवारमा मात्र सीमित राखी सादगी र सौहार्दपूर्ण रूपमा मनाउन अनुरोध गरेको हो। अपिलमा भनिएको छ, “यस संवेदनशील अवस्थामा नगरपालिकाले गरेको अपिललाई सकारात्मक रूपमा लिई पूर्ण पालना गरिदिनुहुन अनुरोध छ।”
 
साथै, नगरपालिकाले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बाढीमा परी बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

विनयी त्रिवेणी- विनयी त्रिवेणी गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (PAN) वितरणसम्बन्धी सेवा प्रवाह सुरु गरिएको छ। करदाता सेवामा सहजता, पहुँच र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाबाटै PAN सेवा उपलब्ध गराउन थालिएको हो। सोमबार आयोजित सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम गिरीको अध्यक्षता रहेको थियो। सेवा शुभारम्भ गाउँपालिका अध्यक्ष गिरी र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत युगल किशोर गौतमले संयुक्त रूपमा पहिलो PAN हस्तान्तरण गरी गर्नुभएको थियो। गाउँपालिकाबाटै PAN वितरण सेवा सुरु भएपछि स्थानीय नागरिक तथा व्यवसायीले स्थायी लेखा नम्बर लिनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसबाट करसम्बन्धी सेवा स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा प्राप्त गर्न सकिने गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चेतन पौडेललगायत स्थानीय व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। स्थानीय तहबाटै PAN वितरण सेवा सञ्चालनमा आएपछि व्यवसाय दर्ता तथा करसम्बन्धी प्रक्रियामा समेत सहजता पुग्ने विश्वास गरिएको छ। सेवा विस्तारसँगै गाउँपालिकाका नागरिकलाई करसम्बन्धी आधारभूत सेवाका लागि जिल्ला सदरमुकाम वा अन्य कार्यालयसम्म पुग्नुपर्ने समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रम र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नागरिकका प्रश्न तथा जिज्ञासा सुन्ने र सम्बन्धित पदाधिकारीबाट जवाफ दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीसहित जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय नागरिकहरूले नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह, योजना कार्यान्वयन तथा नागरिकका दैनिक सरोकारसँग जोडिएका विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए। नागरिकबाट उठाइएका प्रश्नको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित जनप्रतिनिधिले जवाफ दिनु भएको थियो । कार्यक्रममा नागरिकका प्रश्नलाई प्राथमिकताका साथ सम्बोधन गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवा अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।

सार्वजनिक सुनुवाइले स्थानीय सरकारका काम, सेवा र विकास गतिविधिबारे नागरिकले प्रत्यक्ष जानकारी लिन तथा आफ्ना गुनासा, सुझाव र प्रश्न सम्बन्धित पदाधिकारीसमक्ष राख्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी नागरिकहरूले सार्वजनिक सुनुवाइलाई औपचारिकतामा सीमित नराखी नागरिकका प्रश्न, सुझाव तथा गुनासालाई आगामी नीति, योजना र बजेट निर्माणमा समेत समेट्नुपर्ने धारणा राखेका थिए।

कावासोती – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा युवा उद्यमशीलता अवलोकन, प्रवर्द्धन तथा प्रेरणा भ्रमण कार्यक्रम सम्पन्न भएको छ।

कावासोती नगरस्तरीय युवा सञ्जालको आयोजना तथा कावासोती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा आयोजित कार्यक्रममा ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारासहित नगर क्षेत्रभित्र युवाहरूले सञ्चालन गरेका विभिन्न सफल तथा प्रेरणादायी व्यवसायको स्थलगत अवलोकन गरिएको हो।

युवा पुस्तालाई उद्यम तथा स्वरोजगारतर्फ आकर्षित गर्ने, सफल युवा उद्यमीका अनुभवबाट प्रेरणा लिने र स्थानीयस्तरमै सम्भावनाको खोजी गर्न प्रोत्साहित गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको आयोजकले जनाएको छ।

भ्रमणका क्रममा कावासोती–६ स्थित गौरादेवी कृषि फार्म, कावासोती–२ स्थित इन्टरनेसनल ब्युटीपार्लर फार्म, कावासोती–३ स्थित इन्द्रदेव दुनाटपरी उद्योग, कावासोती–१५ स्थित थारु गाउँ रिसोर्ट, कावासोती–१४ स्थित कामना नितु कपडा उद्योग तथा कावासोती–९ स्थित नवल मह उद्योगको अवलोकन गरिएको थियो।

अवलोकनका क्रममा व्यवसायीहरूले व्यवसाय सुरु गर्दाको अवस्था, सञ्चालनका क्रममा भोगेका चुनौती, संघर्ष, सफलता तथा प्राप्त उपलब्धिबारे सहभागी युवालाई जानकारी गराएका थिए। उनीहरूले सीप सिकेर बजारको मागअनुसार व्यवसाय सञ्चालन गर्न सके रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्न सकिने बताएका थिए।

कार्यक्रममा कावासोती नगरपालिका क्षेत्रका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत युवा विद्यार्थी, नगरस्तरीय युवा सञ्जालका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागी युवाहरूले व्यवसाय सञ्चालनको प्रक्रिया, चुनौती, बजार व्यवस्थापन तथा स्थानीयस्तरमा उद्यमशीलताको सम्भावनाबारे प्रत्यक्ष जानकारी लिएका थिए।

कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखाका राजन पाण्डे, कावासोती नगरस्तरीय युवा सञ्जालका अध्यक्ष पवन भोर्तेललगायत युवा, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। युवा दिवसलाई औपचारिक कार्यक्रममै सीमित नगरी युवालाई प्रत्यक्ष रूपमा उद्यम, व्यवसाय तथा स्वरोजगारसँग जोड्ने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। स्थानीयस्तरमै सम्भावना खोजेर व्यवसाय सञ्चालन गरिरहेका युवाका सफल अभ्यासको प्रत्यक्ष अवलोकनले नयाँ पुस्तालाई उद्यमशील बन्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

मध्यविन्दु – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब तीन करोड १६ लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक पूर्णकला चौधरीले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ६५ करोड २० लाख १२ हजार र पुँजीगततर्फ रु ३७ करोड ९६ लाख ५९ हजार विनियोजन गरिएको छ । कुल बजेटमध्ये सामाजिक विकासतर्फ सबैभन्दा बढी रु ४४ करोड १२ लाख ६१ हजार, पूर्वाधार विकासतर्फ रु ३५ करोड ८८ लाख ७४ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु १६ करोड ६८ लाख ७४ हजार, आर्थिक विकासतर्फ रु चार करोड ४२ लाख ३२ हजार तथा वन, वातावरण र विपद् व्यवस्थापनतर्फ रु दुई करोड चार लाख ३० हजार विनियोजन गरिएको छ । नगरसभामा प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार प्रवद्र्धन र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

कृषि तथा पशुपन्छी विकासका लागि रु दुई करोड छ लाख ५० हजार, युवा रोजगार, उद्यमशीलता प्रवद्र्धन तथा सीप विकास कार्यक्रमका लागि रु ६५ लाख तथा समग्र आर्थिक विकास क्षेत्रका लागि रु तीन करोड २१ लाख ३२ हजार विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवा केन्द्र र नगर अस्पतालको सुदृढीकरण, निःशुल्क औषधि, विशेषज्ञसहितका स्वास्थ्य शिविर, स्वास्थ्य बीमा तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य क्षेत्रका लागि नगर स्रोतबाट रु दुई करोड ३० लाख ८४ हजार विनियोजन गरिएको छ । शिक्षा क्षेत्रतर्फ विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिकमा थप सुविधा, निःशुल्क पाठ्यपुस्तक वितरण, डिजिटल शिक्षण प्रणाली विस्तार तथा ‘हाम्रो खुसी’ पाठ्यक्रमलाई थप प्रभावकारी बनाउने कार्यक्रम समेटिएको छ । शिक्षा तथा खेलकुद कार्यक्रमका लागि नगरतर्फबाट रु तीन करोड ७१ लाख ५२ हजार बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासतर्फ वडा स्तरीय योजनाका लागि रु नौ करोड ३३ लाख छुट्याइएको छ । रणनीतिक सडक स्तरोन्नति, कालोपत्रे, हाईमास्ट लाइट जडान, मध्यविन्दु स्तम्भ पूर्वाधार निर्माण, फलामे पुल, पार्क स्तरोन्नति, खानेपानी तथा विभिन्न सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । नगर प्रमुख भिमलाल अधिकारी ले सीमित स्रोत र बढ्दो वित्तीय दबाबका बाबजुद नगरवासीको प्रत्यक्ष जीवनस्तरसँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित बजेटले नगरको समृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्वमा दबाब बढिरहेका बेला पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमलाई केन्द्रमा राखेर बजेट निर्माण गरेका छौँ,” नगर प्रमुख अधिकारीले भन्नुभयो, “यसले समृद्ध मध्यविन्दु र खुसी नगरबासीको लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार गर्नेछ ।” उपप्रमुख पूर्णकला चौधरी ले बजेट निर्माण गर्दा सीमित स्रोत र असीमित आवश्यकताबीच सन्तुलन कायम गर्न खोजिएको बताउनुभयो ।

उहाँका अनुसार मानवीय मूल्यसहितको गुणस्तरीय शिक्षा, नागरिकको पहुँचमा भरपर्दो स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण तथा दिगो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । “नगरवासीको अपेक्षालाई सम्बोधन गर्ने गरी सामाजिक न्याय, समावेशी विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका छौँ,” उपप्रमुख चौधरीले भन्नुभयो, “यसले आर्थिक विकाससँगै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ ।”

चालु आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाको अनुमानित कुल आय रु एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार रहेकोमा हालसम्म रु ९३ करोड ७२ लाख ३५ हजार अर्थात् लक्ष्यको ८९ प्रतिशत आय प्राप्त भएको नगरपालिकाले जनाएको छ । सो अवधिमा कुल बजेटमध्ये रु ६८ करोड १२ लाख ९८ हजार खर्च भई ६४ दशमलव ७ प्रतिशत वित्तीय प्रगति हासिल भएको विवरण प्रस्तुत गरिएको छ । नगरसभाले प्रस्तुत बजेटमाथि छलफल गरी आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ ।

कावासोती- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ९९ करोड १० लाखको बजेट पारित गरेको छ ।  नगरपालिकाको १९औँ नगरसभाले उपप्रमुख फुलकुमारी थनेत ले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ । उपप्रमुख थनेतका अनुसार आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायिकीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण, गुणस्तरीय तथा दिगो पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, प्रविधिमैत्री सार्वजनिक सेवा, गुणस्तरीय शिक्षा तथा सामाजिक न्यायलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ ।

नगर प्रमुख विष्णुप्रसाद भुसाल ले सीमित स्रोतसाधनका बीच नागरिकका अपेक्षा सम्बोधन गर्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याइएको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउने गरी बजेट निर्माण गरिएको उल्लेख गर्नुभयो । “संघीय सरकारबाट प्राप्त हुने अनुदानमा कटौती र आन्तरिक आम्दानीमा चुनौती हुँदाहुँदै पनि नगरवासीको आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गरेका छौँ,” नगर प्रमुख भुसालले भन्नुभयो, “हरित, समुन्नत र आत्मनिर्भर कावासोती निर्माणतर्फ यो बजेट महत्वपूर्ण आधार बन्ने विश्वास लिएका छौँ ।”
बजेटमा केरुङ्गे खोलाको तटबन्धनका लागि रु एक करोड, फोहरमैला व्यवस्थापन पूर्वाधार विकासका लागि रु एक करोड ५० लाख, समपूरक कोषका लागि रु दुई करोड तथा उद्यम विकास कार्यक्रमका लागि रु ३९ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी कृषि क्षेत्रअन्तर्गत हार्भेष्ट कम्बाइन मेसिन, चैतेधान प्रवद्र्धन, माटो स्वास्थ्य सुधार, प्राङ्गारिक कृषि तथा जैविक विविधता संरक्षण कार्यक्रमका लागि रु एक करोड ५० लाख तथा पशुपालन तथा मत्स्य विकास कार्यक्रमका लागि रु ५४ लाख १५ हजार बजेट विनियोजन गरिएको छ । 

नगरस्तरीय सडक स्तरोन्नति, कालोपत्रे, भवन, नाला, पार्क, खेलमैदान तथा शैक्षिक पूर्वाधार निर्माणलगायत पूर्वाधार विकासका कार्यक्रमका लागि रु आठ करोड ४५ लाख तथा वडास्तरीय विकास योजनाका लागि रु १२ करोड ९२ लाख विनियोजन गरिएको छ ।  शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि रु दुई करोड ४५ लाख बजेट छुट्याइएको छ । यसअन्तर्गत ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’, स्थानीय पाठ्यपुस्तक छपाइ तथा वितरण, छात्रवृत्ति, विद्यालय करेसाबारी, प्रतिभा सम्मान तथा खेलकुद विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।


स्वास्थ्य क्षेत्रतर्फ ‘म स्वास्थ्य, मेरो समुदाय’ कार्यक्रम, मानसिक स्वास्थ्य प्रवद्र्धन, आत्महत्या रोकथाम, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलगायतका लागि रु एक करोड ७४ लाख विनियोजन गरिएको छ ।
उपप्रमुख थनेतले नगरभित्र रहेका अटिजम भएका बालबालिकाको तथ्याङ्क सङ्कलन, विशेष शिक्षाको सम्भाव्यता अध्ययन तथा चरणबद्ध कार्यान्वयनका लागि समेत बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डे ले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन योजना छनोट, अनुगमन तथा वित्तीय अनुशासनलाई विशेष प्राथमिकता दिइने बताउनुभयो । उहाँले नगरपालिकाको सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउँदै ‘फेसलेस, पेपरलेस र क्यासलेस’ प्रणालीतर्फ उन्मुख हुने नीति कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट रु सात करोड ५० लाख, संघीय सरकारबाट विभिन्न शीर्षकमा रु ७७ करोड ७९ लाख तथा प्रदेश सरकार र अन्य स्रोतबाट बाँकी रकम प्राप्त हुने अनुमान गरेको छ । कुल बजेटमध्ये प्रशासनिक खर्चतर्फ रु २२ करोड १८ लाख विनियोजन गरिएको छ । नगरसभाले नीति, कार्यक्रम तथा बजेट पारित गर्दै आगामी आर्थिक वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर कार्यान्वयन अघि बढाउने निर्णय गरेको जनाएको छ ।

मध्यविन्दु- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ८३ करोड ८८ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष भगवती बैदवार क्षेत्रीले बजेट प्रस्तुत गर्दै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्रस्तावित बजेटमध्ये ३० करोड ९४ लाख ५३ हजार रुपैयाँ अर्थात् ३६.८९ प्रतिशत पुँजीगत तथा ५२ करोड ९४ लाख १२ हजार रुपैयाँ अर्थात् ६३.११ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक राजस्व, राजस्व बाँडफाँट, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र गत वर्षको मौज्दात रकम गरी बजेटको स्रोत व्यवस्थापन गरेको जनाएको छ ।

बजेटका लागि आन्तरिक राजस्व ४ करोड ४ लाख ६७ हजार ८३४ रुपैयाँ, राजस्व बाँडफाँटबाट २६ करोड ६४ लाख ६१ हजार १६६ रुपैयाँ तथा सङ्घीय सशर्त अनुदान ३० करोड ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ५७ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३८ करोड ८५ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ २४ करोड १९ लाख ३० हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ६० लाख रुपैयाँ र संस्थागत विकास तथा सुशासनतर्फ १६ करोड ११ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष क्षेत्रीले सीमित स्रोतसाधनका बीच जनताका अपेक्षा सम्बोधन गर्ने प्रयास गरिएको बताउँदै बजेटलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन अनुत्पादक खर्च कटौती गरिएको उल्लेख गर्नुभयो ।

बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई बढीभन्दा बढी लाभ पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा ८४ करोड ३६ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा हालसम्म ६९ करोड ६० लाख २३ हजार रुपैयाँ आम्दानी भई ५१ करोड १८ लाख २७ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। यो कुल बजेटको ६०.६६ प्रतिशत खर्च हो । गाउँपालिकाले आगामी वर्ष राजस्व संकलनलाई थप प्रभावकारी बनाउँदै विकास निर्माणका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

नवलपरासी, २७ जेठ – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट” निर्माणलाई मुख्य लक्ष्य बनाइएको छ । गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष पाण्डेले बताउनु भयो ।

“कफी, अदुवा, बेसार, मह लगायत उच्च मूल्यका नगदे बालीको उत्पादन, प्रशोधन, ब्राण्डिङ तथा बजारीकरणलाई प्रोत्साहन गरिने छ”,उहाँले भन्नु भयो,“कृषकहरूको सहज सेवाका लागि ‘हुप्सेकोट किसान कल सेन्टर’ लाई थप प्रभावकारी बनाइने तथा कृषि एम्बुलेन्स सञ्चालनका लागि पहल गरिने जनाइएको छ ।” पशुपालन क्षेत्रतर्फ निःशुल्क पशु स्वास्थ्य शिविर, पशुपन्छी खोप सेवा विस्तार तथा प्रतिलिटर दूधमा २० रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

विपन्न तथा लक्षित नागरिकलाई पशुपालन व्यवसायमार्फत आयआर्जनमा जोड्ने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटन विकासका लागि वडा नं. ५ स्थित रुद्रपुरगढी, धौवादी क्षेत्र तथा वडा नं. २ को थुम्कीदेवी मन्दिरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । “भिजिट हुप्सेकोट अभियान” सञ्चालन गर्दै होमस्टे, इको–भिलेज, पार्क तथा पर्यावरणमैत्री पर्यटन पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिने अध्यक्ष पाण्डेले बताउनु भयो ।

शिक्षा क्षेत्र सुधारका लागि “पढाइसँगै सीप विकास” कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । आगामी तीन वर्षभित्र कक्षा १२ उत्तीर्ण गर्ने प्रत्येक विद्यार्थीलाई कम्तीमा एक व्यावसायिक वा जीवनोपयोगी सीप प्रदान गर्ने लक्ष्य लिइएको छ । विद्यालयमा स्मार्ट कक्षा, विज्ञान प्रयोगशाला, डिजिटल सिकाइ प्रणाली तथा पुस्तकालय विकासमा जोड दिइने उल्लेख गरिएको छ । हुप्सेकोट प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालनको तयारी समेत गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

“स्वास्थ्य क्षेत्रतर्फ दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ज्येष्ठ नागरिकका लागि “सञ्चै हुनुहुन्छ ?” कार्यक्रम, पोषणमैत्री गाउँपालिका अभियान तथा देउराली प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिने छ”,उहाँले भन्नु भयो,“सर्पदंशको जोखिम न्यूनीकरणका लागि देउराली अस्पतालमा व्यवस्थित उपचार सेवा सञ्चालन गरिने छ ।” खानेपानी तथा सरसफाइतर्फ “एक घर–एक धारा” अभियानलाई तीव्रता दिइने भएको छ । रुद्रपुर तथा कुमाल्दी खानेपानी आयोजना सम्पन्न गरी सुरक्षित खानेपानीको पहुँच विस्तार गाउँपालिकाले लक्ष राखेको छ ।

फोहोर व्यवस्थापन तथा सरसफाइ अभियानलाई पनि प्रभावकारी बनाइने नीति लिइएको छ । युवा तथा रोजगारी क्षेत्रमा “मिसन रोजगारी” अभियान सञ्चालन गर्दै वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगार युवालाई सीप विकासमार्फत स्वरोजगार र उद्यमशीलतामा जोडिने जनाइएको छ । डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, कृत्रिम बौद्धिकता, फ्रीलान्सिङ लगायतका आधुनिक सीपमूलक तालिम सञ्चालन गरिने भएको छ ।

गाउँपालिकाले उद्यम विकास कोष स्थापना गरी उद्यमीलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने नीति समेटिएको छ । पूर्वाधार विकासतर्फ हुप्सेकोट चक्रपथ, आलोक चक्रपथ, बन्दरी सडक, पोखरी–रुद्रपुर सडक तथा गरिमाचोक–मौलाथर सडकलाई गौरवका आयोजनाका रूपमा अघि बढाइने भएको छ । प्रमुख बजार क्षेत्रहरूमा सडक बत्ती तथा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिने अध्यक्ष पाण्डेले बताउनु भयो । गाउँपालिकाले सुशासन प्रवद्र्धन, डिजिटल सेवा विस्तार, राजस्व परिचालन सुधार, सामाजिक सुरक्षा सेवाको पहुँच वृद्धि तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र उद्यमशीलताको विकास गर्दै आत्मनिर्भर र समृद्ध हुप्सेकोट निर्माण गर्ने लक्ष्य लिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

नवलपुर — हुप्सेकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै वडामा रहेका बालबालिकालाई निर्धारित सबै खोप प्रदान गरिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिकाबमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाका छवटै वडामा घरदैलो सर्वेक्षणमार्फत १५ देखि ५९ महिनासम्मका बालबालिकाको अवस्था पहिचान गरी राष्ट्रिय खोप कार्यक्रमअनुसार खोप लगाउने कार्य सम्पन्न गरिएको थियो।

खोपबाट छुटेका तथा खोपको पहुँचबाहिर रहेका बालबालिकाको पहिचान गरी सबैलाई खोपको पहुँचमा ल्याइएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

हुप्सेकोट-“जातीय भेदभाव तथा छुवाछुत उन्मूलनः स्थानीय तहको दायित्व र सामुदायिक प्रतिबद्धता” भन्ने नारासहित २०औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस हुप्सेकोट गाउँपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ।

वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गते यो दिवस मनाउने गरिन्छ। सोही अवसरमा हुप्सेकोट गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको हो।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सामाजिक अन्याय तथा विभेदविरुद्ध संघर्षरत व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सल्लाहकार सदस्य तथा भूमि आयोगका पूर्व जिल्ला सदस्य पूर्णप्रकाश सुनार, पूर्व जनप्रतिनिधि अमरसिंह विक, गाउँपालिका क्षेत्रबाट उत्पीडित समुदायका पहिलो चिकित्सक डा. बासुदेव नेपाली तथा समाजसेवी नवलसिंह दमाईलाई दोसल्ला, ढाका टोपी र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै मुक्ति समाजका केन्द्रीय सल्लाहकार सदस्य पूर्णप्रकाश सुनार, यमबहादुर विक, वीरबहादुर विक र भीमबहादुर सुनारले समाजमा अझै पनि छुवाछुत तथा जातीय विभेदका समस्या पूर्ण रूपमा अन्त्य हुन नसकेको बताएका थिए। उनीहरूले दिवसका अवसरमा गाउँपालिकाले दलित समुदायका भावना र समस्यालाई बुझ्ने प्रयासस्वरूप अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे।

उनीहरूले आगामी वर्षहरूमा दलित समुदायको क्षमता विकास, सशक्तीकरण तथा छुवाछुतमुक्त समाज निर्माणका लागि विशेष योजना र कार्यक्रम सञ्चालन गर्न गाउँपालिकासँग आग्रहसमेत गरेका थिए।

कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले विगतको तुलनामा जातीय विभेदका घटनामा कमी आए पनि सामाजिक चेतनामा अपेक्षित परिवर्तन आउन बाँकी रहेको बताउनुभयो। उहाँले समानता, सामाजिक न्याय र मानव मर्यादाप्रति सबै सरोकारवाला संवेदनशील हुनुपर्नेमा जोड दिँदै गाउँपालिकाले दलित समुदायको उत्थानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पूर्णसिंह राना मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा दलित समुदायका अगुवा, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

समानता, सम्मान र सामाजिक न्यायसहितको समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको कार्यक्रममा जातीय विभेद अन्त्यका विषयमा महत्वपूर्ण छलफलसमेत गरिएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।