
कावासोती – निर्माण व्यवसायी संघ नवलपुरको अध्यक्षमा राजन घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशनबाट घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।अध्यक्ष पदका प्रत्याशी सन्तोष सुवेदीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि घिमिरे सर्वसम्मत चयन हुनुभएको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा बाबुराम घिमिरे, द्वितीय उपाध्यक्षमा कान्तबहादुर खण्डलुक, सचिवमा हरिप्रसाद ढुङ्गाना, सहसचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा प्रवीण पौडेल चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरूमा ओमप्रकाश भण्डारी, केशवप्रसाद भुर्तेल, तीर्थराज महतो, खेमप्रसाद थापा श्रेष्ठ, अतिलाल सुस्लिङ र नरेश देवकोटा चयन हुनुभएको छ ।

अध्यक्षमा चयन भएपछि घिमिरेले महँगीका कारण निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने तथा संघको संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवलपुर- नवलपुर उद्योग वाणिज्य संघको भवन निर्माणार्थ नवौँ नवलपुर महोत्सव आयोजना हुने भएको छ। ‘पर्यटन, कृषि, उद्योगमा सहभागिता, समृद्ध नवलपुरको नवौँ महोत्सवको उपयोगिता’ भन्ने मूल नाराका साथ कात्तिक ९ देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो।
कावासोती नगरपालिका–२ स्थित नवदुर्गा खेलमैदान, भाट्टोलामा महोत्सव सञ्चालनको तयारी गरिएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
महोत्सवमा जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनीका साथै मिस नवलपुर फेसन प्रतियोगिता–२०८३, देउसीभैलो प्रतियोगिता, ममी डान्स प्रतियोगिता तथा आमा समूहबीच डोरी तान्ने प्रतियोगितालगायत कार्यक्रम सञ्चालन गरिने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले जानकारी दिनुभयो।
महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, आदिवासी जनजाति तथा विभिन्न जातजातिका मौलिक भेषभूषा, कला र संस्कृतिको प्रदर्शन गरिनेछ। त्यस्तै, मौलिक खाना तथा परिकार, बाल उद्यान, दुग्धजन्य पदार्थ तथा प्रविधि र हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा राखिनेछन्।
महोत्सवको विशेष आकर्षणका रूपमा आइफिल टावरको संरचना र आकर्षक प्रवेशद्वार निर्माण गरिने अध्यक्ष पोख्रेलले बताउनुभयो।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा व्यावसायिकतर्फ १५०, कृषि प्रदर्शनीतर्फ १०, अटो क्षेत्रका १० तथा खाना र खाजाका १५ गरी कुल १८५ वटा स्टल रहने आयोजकले जनाएको छ।
संघको भवन निर्माणका लागि आयोजना गर्न लागिएको महोत्सवमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई विशेष सम्मान गरिनेछ। महोत्सव अवधिभर करिब ६० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र करिब एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।
महोत्सवमार्फत नवलपुर लगानी सम्मेलनको प्रचारप्रसार, स्थानीय भेषभूषा तथा संस्कृतिको प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकको अपेक्षा छ। महोत्सवको अवसरमा जिल्लाका ठूला होटलमा विशेष छुट तथा जंगल सफारीमा सहुलियतको व्यवस्था गर्ने योजना पनि रहेको छ।
त्यस्तै, युवा उद्यमशीलताको विकास, बेरोजगार युवालाई स्वरोजगार बन्न प्रेरित गर्ने तथा लोपोन्मुख मौलिक कला र संस्कृतिको संरक्षण र व्यावसायिक विकासमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नवलपुरमा पर्यटनका सम्भावना पहिचान गरी लगानीकर्ता आकर्षित गर्न तथा जिल्लालाई आर्थिक र औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने सरकारी अध्ययन कार्यान्वयनका लागि दबाब सिर्जना गर्नसमेत महोत्सव उपयोगी हुने आयोजकको विश्वास छ।
कृषिमा आधुनिक प्रविधिको प्रयोग र व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यसमेत महोत्सवले लिएको छ। जिल्लाका प्रमुख पर्यटकीय तथा सम्भावित गन्तव्यहरू धौवादी फलाम खानी, गैँडाकोटको केबलकार, वाल्मीकि आश्रम, त्रिवेणीधाम, त्रिकन्या माई, कुमारवर्ती माई, धौवादीको एकीकृत बस्ती, लालीगुराँस क्षेत्र तथा देवचुली डाँडाको प्रचारप्रसारलाई पनि प्राथमिकता दिइने अध्यक्ष पोख्रेलले बताउनुभयो।


पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । नेपालगञ्जबाट काठमाडौं जादै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज विहान दाउन्नेमा अनियन्त्रित भएर नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार बसमा चालक सहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाईते भएको र दुई जना सकुशल रहेका छन ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा र पठाएको छ । घाइते मध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका यात्रु रहेका छन ।
कावासोती – पूर्वी नवलपरासीमा व्यवसायिक कागती खेती गर्ने किसान र उनीहरूले सञ्चालन गरेका फर्मको विवरण अब अनलाइन अभिलेखमा राखिने भएको छ। किसानको फर्म, कागतीका बोटको संख्या तथा अवस्था, रोग–कीरा नियन्त्रण र मलखाद प्रयोगलगायतका विवरण डिजिटल प्रणालीमा समावेश गरिनेछ।
सोही विवरणका आधारमा किसानलाई बोटको हेरचाह, मलखाद प्रयोग तथा रोग–कीरा नियन्त्रणका उपायबारे प्राविधिक जानकारी अनलाइनमार्फत उपलब्ध गराइनेछ। फर्मको जीपीएस लोकेसनसमेत प्रणालीमा राखिने भएकाले सम्बन्धित क्षेत्रको मौसम पूर्वानुमानका आधारमा किसानलाई आवश्यक सूचना दिन सकिने वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीले बताउनुभयो। यसबाट प्रतिकूल मौसमका कारण कागती खेतीमा हुन सक्ने क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
इन्टरनेट नभएको अवस्थामा समेत प्रयोग गर्न मिल्ने गरी प्रणाली विकास गरिने जनाइएको छ। यसले किसानको विवरण व्यवस्थित राख्नुका साथै कृषि सेवा प्रवाहमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइको आयोजनामा बिहीबार व्यवसायिक कागती खेती विवरण संकलन, अनलाइन अभिलेखीकरण तथा बजार सहजीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कार्यक्रममा डिजिटल टुल विज्ञ किरण बमनूले कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग तथा व्यवसायिक कागती कृषकको अनलाइन अभिलेखीकरणका लागि सफ्टवेयर निर्माण र सञ्चालनबारे जानकारी दिनुभएको थियो। कार्यक्रममा जिल्लाका सबै पालिकाका कृषि शाखा प्रमुख, कृषि प्राविधिक तथा व्यवसायिक कागती खेतीमा संलग्न किसानहरूको सहभागिता रहेको थियो।
नवलपुर- बिनय त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन तथा कार्यान्वयन गरिएका योजना, कार्यक्रम तथा गतिविधिको वार्षिक समीक्षा गरेको छ।
गाउँपालिकाको आयोजना तथा समन्वयमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम गिरी, उपाध्यक्ष भगवती वैद्यवार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर २ का अध्यक्ष पुष्पा आले मगरसहित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न विषयगत शाखा तथा वडा कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन तथा कार्यान्वयन गरेका योजना, कार्यक्रम र गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा शाखा तथा वडाबाट भएका काम, हासिल भएका उपलब्धि, सेवा प्रवाहको अवस्था तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीलगायतका विषय समेटिएका थिए।
प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूबीच छलफलसमेत गरिएको थियो। छलफलका क्रममा गत आर्थिक वर्षमा गाउँपालिकाले हासिल गरेका उपलब्धि, सुधार गर्नुपर्ने पक्ष तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायका विषयमा समीक्षा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गत आर्थिक वर्षको समग्र नतिजा राम्रो र सुधारमुखी रहेको बताउनुभयो। गत वर्षबाट प्राप्त अनुभव र उपलब्धिलाई आधार बनाएर चालु आर्थिक वर्षमा गाउँपालिकाको कार्यसम्पादनलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
अध्यक्ष गिरीले नागरिकले गाउँपालिकाबाट पाउने सेवा तथा सुविधालाई थप सहज, गुणस्तरीय र जनतामैत्री बनाउन जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो।
चालु आर्थिक वर्षमा सेवा प्रवाहमा निरन्तरता कायम राख्दै कामको गुणस्तरमा थप सुधार गर्ने र नागरिकलाई छिटो, सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष गिरीको भनाइ थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले वार्षिक समीक्षा केवल विगतका कामको विवरण प्रस्तुत गर्ने कार्यक्रम नभई आगामी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने आधारका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले शाखा तथा वडा कार्यालयबाट प्रस्तुत गरिएका कार्यपत्र र प्रगतिका आधारमा भएका कामको समीक्षा गर्दै कमी–कमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो।
बस्नेतले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने धारणा राख्नुभयो। उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै योजना तथा कार्यक्रमलाई परिणाममुखी बनाउन सबै शाखा र वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
वार्षिक समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माण, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, प्रशासन तथा सेवा प्रवाहलगायतका विषयमा भएका प्रगतिको समीक्षा गरिएको थियो। साथै कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीलाई आगामी दिनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती वैद्यवार क्षेत्री, वडा नम्बर २ का अध्यक्ष पुष्पा आले मगरसहित अन्य वडाध्यक्ष तथा जनप्रतिनिधि, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
वार्षिक समीक्षा कार्यक्रमले गत आर्थिक वर्षमा भएका कामको अवस्था पहिचान गर्नुका साथै चालु आर्थिक वर्षमा आवश्यक सुधार, प्राथमिकता र कार्यदिशा तय गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ। समीक्षा कार्यक्रमबाट प्राप्त निष्कर्षका आधारमा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै गाउँपालिकाको समग्र कार्यसम्पादनमा सुधार गर्ने लक्ष्य लिइएको छ।
कावासोती – अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढीका कारण पूर्वी नवलपरासीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। नदीको जलस्तर बढेपछि गैँडाकोट–२ बोटेटोलका १८ घरधुरी विस्थापित भएका छन् भने कावासोती–१७ अमलटारी क्षेत्रका होटल तथा रिसोर्टमा पानी पसेको छ। विनयी त्रिवेणी–१ बगुवनमा करिब दुई सय बिघा धानखेतीसमेत डुबानमा परेको छ।


जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार नारायणी नदीको बहाव बढेर बस्तीमा पानी पस्न थालेपछि गैँडाकोट–२ बोटेटोलका १८ घरधुरीका ११४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
उनीहरूलाई आफन्तको घरमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। घरभित्र रहेका सामानसमेत सुरक्षित स्थानमा सारिएको र हालसम्म मानवीय तथा भौतिक क्षति नभएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो।
यस्तै, नारायणी नदीको बाढीका कारण कावासोती–१७ स्थित अमलटारी क्षेत्रसमेत डुबानमा परेको छ। बाढीको पानी अमलटारीस्थित नाना जंगल रिसोर्ट र रोयल ग्यालेक्सी रिसोर्टमा पसेको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरी उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै प्रहरीले माइकिङसमेत गरिरहेको छ।
उद्धारमा खटिनुभएका प्रहरी निरीक्षक मुरारीप्रसाद गुप्ताका अनुसार स्थानीयका घर तथा व्यवसायमा रहेका सामान र पशुचौपायालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
यसैबीच, नारायणी नदीमा आएको बाढीका कारण विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनमा ठूलो क्षेत्रफलको धानखेती डुबानमा परेको छ। लगातारको वर्षाका कारण नदीको जलस्तर बढेपछि खेतीयोग्य जमिनमा पानी पसेको हो।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार बगुवन क्षेत्रमा करिब दुई सय बिघा धानखेती डुबानमा परेको छ। डुबान सुरु भएपछि गाउँपालिकाका नगर प्रहरी, सुरक्षाकर्मी तथा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरी उद्धार तथा व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ।

नारायणी नदीको बहाव निरन्तर बढिरहेकाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
कावासोती – मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेसँगै कावासोती नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्यको तयारी तीव्र बनाएको छ।
नगरपालिकाले आज सूचना जारी गर्दै असोज ८ देखि ११ गतेसम्म हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गरी द्रुत प्रतिकार्य टोली गठन गरेको जनाएको हो। टोलीमार्फत आवश्यक सूचना, सहायता तथा समन्वयका लागि सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारी तोकिएको नगरपालिकाले जनाएको छ।
आवश्यक सूचना तथा सहायताका लागि प्रशासन शाखा प्रमुख निरञ्जन केसी, स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र मल्ल, विपद् शाखा प्रमुख रञ्जित केसी, नगर प्रहरी प्रमुख शेरबहादुर विक र रेडक्रस प्रतिनिधि रेशम चापागाईंलाई सम्पर्क गर्न सकिनेछ।
नगरपालिकाले नदी तथा खोला तटीय क्षेत्रका वडा समितिसँग समन्वय गरी विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ। जोखिमका समयमा उद्धारका लागि डोरी, लाइफ ज्याकेट, पोर्टेबल लाइटलगायत आवश्यक सामग्री तत्काल उपलब्ध हुने व्यवस्था गरिएको जनाएको छ।
आपत्कालीन अवस्थामा उद्धार तथा विपद् व्यवस्थापनका लागि आकस्मिक मनसुन प्रतिकार्य बेस, चोरमारा, जिल्ला प्रहरी कार्यालय कावासोती तथा वन तथा पर्यावरण सुरक्षा गण, हात्तीखोरसँग समन्वय गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

त्यस्तै, खोला तथा नदी तटीय क्षेत्र नजिकका विद्यालयलाई विद्यार्थी तथा अभिभावकलाई सुरक्षित रहन सूचना प्रवाह गर्न आग्रह गरिएको छ। सम्भावित विपद्का बेला केही विद्यालयलाई आकस्मिक सेल्टरका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो।
नगरपालिकाका अनुसार वडा नं. ४ हसौरास्थित सरस्वती माध्यमिक विद्यालय, वडा नं. ५ को कालिका माध्यमिक विद्यालय, वडा नं. १२ का सन्तु देवी प्राथमिक विद्यालय र शान्ति निकुञ्ज माध्यमिक विद्यालय, वडा नं. १५ को चन्द्रेश्वरी माध्यमिक विद्यालय तथा वडा नं. १७ का सरस्वती माध्यमिक विद्यालय र त्रिभुवन बाल माध्यमिक विद्यालयलाई आकस्मिक सेल्टरका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले नदी, खोला तथा खोल्साको आसपास बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै जोखिमका बेला आवश्यक सहयोग तथा उद्धारका लागि स्थानीय संयन्त्रसँग समन्वय गर्न अनुरोध गरेको छ।
यसैगरी, नगरप्रमुख तथा उपप्रमुखले प्रयोग गर्ने सवारीसाधन र टिपरलाई उद्धार तथा विपद् व्यवस्थापनका लागि २४ घण्टा प्रयोग गर्न सकिने गरी चालकसहित तयारी अवस्थामा राखिएको छ। आवश्यक परे निजी क्षेत्रका हेभी मेसिन तथा उपकरणसमेत तत्काल परिचालन गर्न समन्वय गरिएको नगरपालिकाले जनाएको छ।
भारी वर्षाको समयमा नदी, खोला तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।

कावासोती – शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कावासोती–१ को १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको परिसरमा आयोजित साधारण सभा संस्थाका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षता तथा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूले उपभोक्तालाई २४सै घण्टा स्वच्छ, सर्वसुलभ र पर्याप्त खानेपानी वितरणको कामलाई निरन्तरता दिन आग्रह गरेका छन्। खानेपानी वितरणसँगै सरसफाइको क्षेत्रलाई पनि संस्थाले प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।



साधारण सभामा संस्थाका अध्यक्ष राजकुमार घिमिरेले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो। वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले खानेपानी मन्त्रालय तथा खानेपानी विभागसँग समन्वय गरी बृहत् खानेपानी आयोजना सञ्चालनका लागि नयाँ डीपीआर माग गर्ने बताउनुभयो।

संघीय सरकारबाट प्राप्त हुने बजेटबाट आवश्यक सोलुसन फिल्टर निर्माण गरी खानेपानी सञ्चालन गर्ने, प्रदेश सरकार तथा स्थानीय तहसँग बजेट माग गरी आवश्यक स्थान पहिचान गरेर पाइप विस्तार तथा भल्भ चेम्बर निर्माण गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, संस्थामा कार्यरत कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारीको बौद्धिक तथा क्षमता विकासका लागि अवलोकन भ्रमण, तालिम तथा गोष्ठी सञ्चालन गर्ने योजना पनि संस्थाले अघि सारेको छ।

आयोजना मर्मतसम्भारका लागि वार्षिक रूपमा प्रतिधारा ३ सय रुपैयाँका दरले मर्मतसम्भार कोषमा रकम संकलन गर्ने तथा सदस्यको मृत्यु भएमा उपलब्ध गराइने मृतक राहत कोषको रकम अबदेखि मृत्यु भएको ३५ दिनभित्र मात्र उपलब्ध गराउने कार्ययोजना रहेको अध्यक्ष घिमिरेले बताउनुभयो।
संस्थाले चालु आर्थिक वर्षमा १ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार श्रेष्ठ र प्रगति प्रतिवेदन सचिव लक्ष्मण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो। लेखा संयोजक तिलाराम भुसालले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।



कार्यक्रममा कावासोती–१ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर थापामगर, खानेपानी जिल्ला महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, खानेपानी तथा सरसफाइ डिभिजन इकाइ कार्यालय कावासोतीका प्रमुख इन्जिनियर सञ्जय कोइराला, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका इन्जिनियर सन्तोष अधिकारी, संस्थाका सल्लाहकार संयोजक अशोककुमार लम्साललगायत सल्लाहकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।






नवलपुर- एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसक्दा संक्रमितमाथि हुने लाञ्छना र भेदभाव अझै कायमै रहेको पाइएको छ। उपचारका क्रममा स्वास्थ्यकर्मीबाट समेत भेदभाव हुने र जटिल स्वास्थ्य समस्या भएका संक्रमितलाई अन्यत्र रिफर गर्ने समस्या रहेको बताइएको छ।
लुम्बिनी प्लसले कावासोतीमा आयोजना गरेको सरोकारवाला संस्थासँगको समन्वयात्मक बैठकमा एचआइभी एड्सका क्षेत्रमा भएका असल अभ्यास, समस्या तथा चुनौतीबारे छलफल गर्दै संक्रमितले उपचारदेखि सामाजिक जीवनसम्म विभिन्न समस्या भोग्दै आएको जानकारी गराइएको हो।
लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलका अनुसार एचआइभी संक्रमित भएको थाहा पाएपछि कतिपय स्वास्थ्यकर्मीबाट समेत भेदभाव हुने गरेको छ। शल्यक्रिया तथा जटिल स्वास्थ्य समस्या भएका संक्रमितलाई उपचार सम्भव हुँदाहुँदै अन्य जिल्लामा रिफर गर्ने प्रवृत्तिले थप समस्या भएको उहाँले बताउनुभयो।
आर्थिक रूपमा विपन्न र स्वास्थ्य अवस्था कमजोर भएपछि मात्र पहिचान हुने संक्रमितको उपचार व्यवस्थापनमा चुनौती रहेको पौडेलले बताउनुभयो। संक्रमित बालबालिका वयस्क भएपछि विवाहमा समस्या हुने तथा विवाहपछि बसाइँ सर्दा एआरटी औषधि सेवन र स्वास्थ्य संस्थासँगको सम्पर्क छुट्ने समस्या पनि रहेको उहाँको भनाइ छ।
पौडेलका अनुसार जिल्लामा हाल ४ सय ४६ जना एचआइभी संक्रमितले एआरटी औषधि सेवन गरिरहेका छन्। स्थानीय तहले संक्रमितका लागि आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।
लुम्बिनी प्लसले विगत २० वर्षदेखि नवलपरासी क्षेत्रमा एचआइभी संक्रमितको हेरचाह तथा सहयोग गर्दै आएको छ। संस्थाले उपचार समन्वय, एआरटी औषधिको निरन्तरता, स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श तथा पोषण र शैक्षिक सामग्रीमा सहयोग गर्दै आएको जनाएको छ।
बैठकमा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईं, डिल्लीराम तिवारी, मध्यविन्दु प्रादेशिक अस्पतालकी शान्ति भण्डारी, मध्यविन्दु नगर अस्पतालका नवीन अधिकारी, कावासोती नगरपालिका स्वास्थ्य शाखाका परशुराम भुसाल, स्वास्थ्य बीमा बोर्डका कृष्णबहादुर साउद, इन्सेक प्रतिनिधि दयाराम आचार्यलगायत सरोकारवालाको सहभागिता थियो।
कावासोती- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा नं. १ को अधिवेशनबाट कृष्ण बहादुर भण्डारी सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार भएको अधिवेशनबाट उपसभापतिमा चेतबहादुर थापा र शर्मिला घिमिरे कँडेल, सचिवमा रियाज खान तथा सह–सचिवमा कुशल पौडेल चयन हुनुभएको निर्वाचन अधिकृत केशव प्रसाद गौडेलले जानकारी दिनुभयो ।
यस्तै, वडा समितिको सदस्यमा पदमकुमारी आले, हरिमाया काफ्ले, सुनिता परियार, सूर्यबहादुर मुक्तान, ढेलराज मल्ल, छबिलाल सापकोटा, खोमप्रसाद अधिकारी, काशीराम बस्याल, थम सारु, देव गाहा मगर र पार्वती परियार चयन हुनुभएको छ ।
अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ । प्रतिनिधिमा सिर्जना वि.क., कमला देवी श्रेष्ठ, खगिसरा गुरुङ, रामप्रसाद भुसाल, रामचन्द्र मुक्तान, नारायण प्रसाद पन्त, खगेश्वर भुसाल, दुर्गाप्रसाद भट्टराई, घनश्याम भुर्तेल, धनु भुसाल, जगत थापा, इस्लामुदिन मिया,अमरसिंह वि.क., भीमलाल डुम्रे, अवतार कँडेल, रोशन सुनार, यमबहादुर वि.क., चक्रबहादुर मुक्तान, भक्तबहादुर मुक्तान, यदुनाथ काफ्ले, तोयाराज भुसाल, र मिनकुमारी गुरुङ चयन हुनुभएको छ ।





