कावासोती- रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै कावासोती नगरपालिकाले यस वर्षको हरितालिका तीज पर्व सादगीपूर्ण रूपमा मनाउन अपिल गरेको छ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालले शुक्रबार अपिल जारी गर्दै विपद्का कारण धेरै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा अपूरणीय क्षति पुगेको अवस्थामा तीजका अवसरमा गरिने तडकभडकले पीडित परिवारमा थप असर पर्न सक्ने बताएका छन्।
नगरपालिकाले सार्वजनिक स्थान, पार्टी प्यालेस लगायतका स्थानमा गरिने औपचारिक तथा अनौपचारिक तडकभडकसहितका कार्यक्रम नगर्न आग्रह गरेको छ। नगरपालिकाले तीज पर्वलाई आ–आफ्नो घरपरिवारमा मात्र सीमित राखी सादगी र सौहार्दपूर्ण रूपमा मनाउन अनुरोध गरेको हो। अपिलमा भनिएको छ, “यस संवेदनशील अवस्थामा नगरपालिकाले गरेको अपिललाई सकारात्मक रूपमा लिई पूर्ण पालना गरिदिनुहुन अनुरोध छ।”
साथै, नगरपालिकाले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बाढीमा परी बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।











