कावासोती – अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढीका कारण पूर्वी नवलपरासीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। नदीको जलस्तर बढेपछि गैँडाकोट–२ बोटेटोलका १८ घरधुरी विस्थापित भएका छन् भने कावासोती–१७ अमलटारी क्षेत्रका होटल तथा रिसोर्टमा पानी पसेको छ। विनयी त्रिवेणी–१ बगुवनमा करिब दुई सय बिघा धानखेतीसमेत डुबानमा परेको छ।



जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार नारायणी नदीको बहाव बढेर बस्तीमा पानी पस्न थालेपछि गैँडाकोट–२ बोटेटोलका १८ घरधुरीका ११४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
उनीहरूलाई आफन्तको घरमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। घरभित्र रहेका सामानसमेत सुरक्षित स्थानमा सारिएको र हालसम्म मानवीय तथा भौतिक क्षति नभएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो।
यस्तै, नारायणी नदीको बाढीका कारण कावासोती–१७ स्थित अमलटारी क्षेत्रसमेत डुबानमा परेको छ। बाढीको पानी अमलटारीस्थित नाना जंगल रिसोर्ट र रोयल ग्यालेक्सी रिसोर्टमा पसेको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरी उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै प्रहरीले माइकिङसमेत गरिरहेको छ।

उद्धारमा खटिनुभएका प्रहरी निरीक्षक मुरारीप्रसाद गुप्ताका अनुसार स्थानीयका घर तथा व्यवसायमा रहेका सामान र पशुचौपायालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
यसैबीच, नारायणी नदीमा आएको बाढीका कारण विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनमा ठूलो क्षेत्रफलको धानखेती डुबानमा परेको छ। लगातारको वर्षाका कारण नदीको जलस्तर बढेपछि खेतीयोग्य जमिनमा पानी पसेको हो।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार बगुवन क्षेत्रमा करिब दुई सय बिघा धानखेती डुबानमा परेको छ। डुबान सुरु भएपछि गाउँपालिकाका नगर प्रहरी, सुरक्षाकर्मी तथा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरी उद्धार तथा व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ।

नारायणी नदीको बहाव निरन्तर बढिरहेकाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।









