२०८३ कार्तिक १ शनिबार

व्यवसायिक कागती खेतीको विवरण अब अनलाइन अभिलेखमा

कावासोती – पूर्वी नवलपरासीमा व्यवसायिक कागती खेती गर्ने किसान र उनीहरूले सञ्चालन गरेका फर्मको विवरण अब अनलाइन अभिलेखमा राखिने भएको छ। किसानको फर्म, कागतीका बोटको संख्या तथा अवस्था, रोग–कीरा नियन्त्रण र मलखाद प्रयोगलगायतका विवरण डिजिटल प्रणालीमा समावेश गरिनेछ।

सोही विवरणका आधारमा किसानलाई बोटको हेरचाह, मलखाद प्रयोग तथा रोग–कीरा नियन्त्रणका उपायबारे प्राविधिक जानकारी अनलाइनमार्फत उपलब्ध गराइनेछ। फर्मको जीपीएस लोकेसनसमेत प्रणालीमा राखिने भएकाले सम्बन्धित क्षेत्रको मौसम पूर्वानुमानका आधारमा किसानलाई आवश्यक सूचना दिन सकिने वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीले बताउनुभयो। यसबाट प्रतिकूल मौसमका कारण कागती खेतीमा हुन सक्ने क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इन्टरनेट नभएको अवस्थामा समेत प्रयोग गर्न मिल्ने गरी प्रणाली विकास गरिने जनाइएको छ। यसले किसानको विवरण व्यवस्थित राख्नुका साथै कृषि सेवा प्रवाहमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइको आयोजनामा बिहीबार व्यवसायिक कागती खेती विवरण संकलन, अनलाइन अभिलेखीकरण तथा बजार सहजीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा डिजिटल टुल विज्ञ किरण बमनूले कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग तथा व्यवसायिक कागती कृषकको अनलाइन अभिलेखीकरणका लागि सफ्टवेयर निर्माण र सञ्चालनबारे जानकारी दिनुभएको थियो। कार्यक्रममा जिल्लाका सबै पालिकाका कृषि शाखा प्रमुख, कृषि प्राविधिक तथा व्यवसायिक कागती खेतीमा संलग्न किसानहरूको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।