२०८३ श्रावण २ शनिबार

कावासोती- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ९९ करोड १० लाखको बजेट पारित गरेको छ ।  नगरपालिकाको १९औँ नगरसभाले उपप्रमुख फुलकुमारी थनेत ले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ । उपप्रमुख थनेतका अनुसार आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायिकीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण, गुणस्तरीय तथा दिगो पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, प्रविधिमैत्री सार्वजनिक सेवा, गुणस्तरीय शिक्षा तथा सामाजिक न्यायलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ ।

नगर प्रमुख विष्णुप्रसाद भुसाल ले सीमित स्रोतसाधनका बीच नागरिकका अपेक्षा सम्बोधन गर्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याइएको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउने गरी बजेट निर्माण गरिएको उल्लेख गर्नुभयो । “संघीय सरकारबाट प्राप्त हुने अनुदानमा कटौती र आन्तरिक आम्दानीमा चुनौती हुँदाहुँदै पनि नगरवासीको आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गरेका छौँ,” नगर प्रमुख भुसालले भन्नुभयो, “हरित, समुन्नत र आत्मनिर्भर कावासोती निर्माणतर्फ यो बजेट महत्वपूर्ण आधार बन्ने विश्वास लिएका छौँ ।”
बजेटमा केरुङ्गे खोलाको तटबन्धनका लागि रु एक करोड, फोहरमैला व्यवस्थापन पूर्वाधार विकासका लागि रु एक करोड ५० लाख, समपूरक कोषका लागि रु दुई करोड तथा उद्यम विकास कार्यक्रमका लागि रु ३९ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी कृषि क्षेत्रअन्तर्गत हार्भेष्ट कम्बाइन मेसिन, चैतेधान प्रवद्र्धन, माटो स्वास्थ्य सुधार, प्राङ्गारिक कृषि तथा जैविक विविधता संरक्षण कार्यक्रमका लागि रु एक करोड ५० लाख तथा पशुपालन तथा मत्स्य विकास कार्यक्रमका लागि रु ५४ लाख १५ हजार बजेट विनियोजन गरिएको छ । 

नगरस्तरीय सडक स्तरोन्नति, कालोपत्रे, भवन, नाला, पार्क, खेलमैदान तथा शैक्षिक पूर्वाधार निर्माणलगायत पूर्वाधार विकासका कार्यक्रमका लागि रु आठ करोड ४५ लाख तथा वडास्तरीय विकास योजनाका लागि रु १२ करोड ९२ लाख विनियोजन गरिएको छ ।  शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि रु दुई करोड ४५ लाख बजेट छुट्याइएको छ । यसअन्तर्गत ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’, स्थानीय पाठ्यपुस्तक छपाइ तथा वितरण, छात्रवृत्ति, विद्यालय करेसाबारी, प्रतिभा सम्मान तथा खेलकुद विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।


स्वास्थ्य क्षेत्रतर्फ ‘म स्वास्थ्य, मेरो समुदाय’ कार्यक्रम, मानसिक स्वास्थ्य प्रवद्र्धन, आत्महत्या रोकथाम, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलगायतका लागि रु एक करोड ७४ लाख विनियोजन गरिएको छ ।
उपप्रमुख थनेतले नगरभित्र रहेका अटिजम भएका बालबालिकाको तथ्याङ्क सङ्कलन, विशेष शिक्षाको सम्भाव्यता अध्ययन तथा चरणबद्ध कार्यान्वयनका लागि समेत बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डे ले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन योजना छनोट, अनुगमन तथा वित्तीय अनुशासनलाई विशेष प्राथमिकता दिइने बताउनुभयो । उहाँले नगरपालिकाको सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउँदै ‘फेसलेस, पेपरलेस र क्यासलेस’ प्रणालीतर्फ उन्मुख हुने नीति कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट रु सात करोड ५० लाख, संघीय सरकारबाट विभिन्न शीर्षकमा रु ७७ करोड ७९ लाख तथा प्रदेश सरकार र अन्य स्रोतबाट बाँकी रकम प्राप्त हुने अनुमान गरेको छ । कुल बजेटमध्ये प्रशासनिक खर्चतर्फ रु २२ करोड १८ लाख विनियोजन गरिएको छ । नगरसभाले नीति, कार्यक्रम तथा बजेट पारित गर्दै आगामी आर्थिक वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर कार्यान्वयन अघि बढाउने निर्णय गरेको जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।