२०८३ कार्तिक ४ मंगलवार

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी वेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । अमलटारी स्थित नारायणी नदीको किनारमा बाह्र जनाको सामुहिक दाहसंस्कार गरिएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाईड्रो पावरमा लामो समयदेखि काम गर्दै आएका उनीहरु भदौ १० को बाढीमा परी बेपत्ता भएका थिए । मध्यविन्दु नगरपालिका १ सेतापानीका तिन जना र मध्यविन्दु ५ बाघखोरका नौ जना सम्पर्क विहिन भएदेखि नै यहाँको गाउँ शोकमा डुबेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवाको बाढीमा परेर मध्यविन्दु १ सेतापनीका हेम बहादुुर चौधरी, हुसन बहादुर थारु, कालीराम महतो थारु, मध्यविन्दु ५ बाघखोरका जीवन वि.क., गंगाराम मुखिया,विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु बेपत्ता भएका थिए ।

सम्पर्क विहिन भएदेखि नै खोजी कार्यका गर्दा पनि लामो समयसम्म केहि पत्ता नलागेपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको पीडित परिवारले बताएका छन । मध्यविन्दु नगरपालिकाले बेपत्ता नागरिकको खोजी कार्यमा लाग्दाको खर्च सहित काजक्रियाको लागि प्रत्येक परिवारलाई एक लाख रुपौयाका दरले राहत दिने निर्णय गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

 

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ स्थित घांगी भीरमा गत चैत महिनाबाट निस्किरहेको धुवा कोइलामा पाईने कार्बनयुक्त तत्व रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । सो क्षेत्रका चट्टानमा कोइलामा पाईने कार्बनयुक्त तत्वहरु देखिएको हुदा स्थलगत निरीक्षण पछि आवश्यक अध्ययनका लागि चट्टान र पानीको नमुना संकलन गरिएको भुगर्भविद प्रकाश लुइटेलले बताउनुभयो ।

कोइलायुक्त चट्टान र एक प्रकारको खनिजमा रासायनिक प्रतिक्रियाबाट धुवा र ताप उत्पन्न भएको विज्ञ टोलीले आशंका गरेका छन । लामो समयदेखि निरन्तर धुवा निस्किरहेपछि यसको स्थलगत अध्ययन तथा अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागका भूगर्भविद प्रकाश लुईटेलको नेतृत्वमा आएको चार सदस्यीय विज्ञको टोली सो क्षेत्रमा पुगेका थिए ।

अहिले ठूलो मात्रामा जमिनमुनिबाट धुवा निस्किरहेको र सो क्षेत्र वरिवारीका रुखविरुवाहरु जल्ने गरी ताप बढ्को छ । धुवा निस्किएको ठाउँमा जादा हानीकारक ग्यास पनि आउन सक्ने सम्भावना हुने हुदा मानिसहरुलाई सो क्षेत्र नजिन नजान विज्ञको टोलीले आग्रह गरेको छ । 

 

 

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट निरन्तर धुवाँ निस्किरहेको विषयमा अध्ययन तथा अनुसन्धान गर्न विशेषज्ञ टोली स्थलगत रूपमा आउने भएको छ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुइँटेलको नेतृत्वमा चार सदस्यीय टोलीलाई घाँगी भीरमा स्थलगत अध्ययन तथा अनुसन्धानका लागि खटाइएको हो।

आवश्यक उपकरणसहित घटनास्थल पुग्ने विशेषज्ञ टोलीले भीरबाट निस्किरहेको धुवाँ तथा देखिएको आगोको कारणबारे अध्ययन गर्नेछ। स्थलगत अध्ययन तथा आवश्यक परीक्षणपछि धुवाँ निस्किनुको वास्तविक कारण र सम्भावित जोखिमबारे तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडबाट गत चैतदेखि निरन्तर धुवाँ निस्किरहेको स्थानीयले बताएका छन्। सो क्षेत्रमा करिब दुई वर्षअघि पहिरो गएको थियो।

सुरुवाती समयमा सामान्य देखिएको धुवाँको मुस्लो पछिल्लो समय बढ्दै गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। धुवाँसँगै अमिलो तथा बारुदजस्तो गन्ध आउने गरेको स्थानीयको भनाइ छ।

लामो समयदेखि धुवाँ निस्किरहेको भए पनि यसको कारणबारे स्पष्ट तथ्य बाहिर नआएको अवस्थामा अब विशेषज्ञ टोलीले गर्ने स्थलगत अध्ययनलाई स्थानीयले चासोका साथ हेरेका छन्।

अब घाँगी भीरबाट निस्किरहेको धुवाँ प्राकृतिक प्रक्रिया हो वा भूगर्भभित्रको कुनै गतिविधिको संकेत—विशेषज्ञको अध्ययनपछि यसको जवाफ आउने अपेक्षा गरिएको छ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ। पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा दुई वर्षअघि पहिरो गएको थियो।

त्यही ठाउँमा जमिनमुनिबाट गत चैतदेखि निरन्तर धुँवा निस्किरहेको स्थानीय दानबहादुर राना मगरले बताए। करिब १८ वर्ष पहिले सोही क्षेत्रको दक्षिण भेगमा पनि धुँवाको मुस्लो निस्किएको थियो। केही समयपछि त्यहाँ आफै निभ्यो, अहिले फेरि अर्को ठाउँमा धुँवाा निस्किएको हो।

‘धुँवा अमिलो, वारुदजस्तो स्वादको मानेका छौं। नजिकको बस्तीका बासिन्दालाई श्वास फेर्न गाह्रो बनाइसक्यो,’उनले सुनाए।

धुँवाको मुस्लो निस्किरहेको ठाउँमा सुकेको घाँस, दाउरा राखिएमा आफैँ आगो बल्ने गरेको छ। हुप्सेकोट गाउँपालिका–६ फलाम खानी भएको क्षेत्र हो। अहिले धुँवा निस्किरहेको स्थानको तल्लो भागको खोला किनार सबै पहेँलो छ भने त्यहाँको पानी फिटकिरीको स्वादजस्तो छ।

पहिले बाजेको पालामा त्यहाँ फलाम निकाल्ने र त्यसबाट खुकुरी निर्माण गर्ने गरिएको स्थानीय ७० वर्षीय गमबहादुर सुनारी मगरले सुनाए। पहिरो गएको स्थानमा गन्हाउने धुँवा निस्कनुले पेलेगामा बसोबास गर्ने ५ सय नागरिक जोखिममा रहेकाले अध्ययन गरी समाधान गर्नुपर्ने उनले बताए। ‘पानी परेको समयमा पनि धुँवा निस्कन रोकिँदैन, अनि रातभर जाग्रम बस्छौं, कतै बस्ती नै लैजाने हो कि आगो लागेर भन्ने डर लागिरहन्छ,’ उनले भने।

धुँवा निस्किएको ठाउँभन्दा करिब ५ सय मिटर टाढा पेलेगामा ४४ घरधुरी बस्छन्। पहिरोसँगै जमिनमुनिबाट निरन्तर धुँवा निस्कने क्रम नरोकिएपछि बस्ती नै जोखिम पर्ने चिन्ता स्थानीयको छ। यस क्षेत्र नजिकै धैवादी फलाम खानी छ। फलाम खानी नजिक भएको, ग्यास वा धातुको खानीसमेत हुनसक्ने हुँदा यसको तत्काल अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ।

लामो समयदेखि स्थानीयले धँवा निस्किरहेको जानकारी गराएपछि विस्तृत अध्ययन गरेर वास्तविकता पत्ता लगाउन केन्द्र सरकारसँग अनुरोध गरिएको र आवश्यक समन्वय भैरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।

‘पानी परेको समयमा धुँवा झनै फैलिएको भन्ने जानकारी भएपछि स्थलगत अनुगमन गर्दा भासिएको जमिनमा धुँवा निस्किरहेको र वरपरका बोटविरुवा पोलिएको भेटियो। अब जमिनबाट धुँवा निस्कने विषय सामान्य होइन भनेर यसको कारण पत्ता लगाएर समाधानतर्फ लाग्छौँ,’ उनले भनिन्।

घाँगी भीरमा देखिएको असामान्य गतिविधिलाई सामान्य घटनाका रूपमा नलिन नवलपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजन गौतमले आकस्मिक समय लिएर सरकारको ध्यानाकर्षण गराएका थिए। खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गर्ने तयारी गरेको छ।

 

कावासोती – भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारलाई सहयोग गर्न नवलपुर होटल व्यवसायी संघले १ लाख २३ हजार ६३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

संघले नवलपुरका होटल व्यवसायीहरूबाट विपद् प्रभावितको सहयोगका लागि स्वतःस्फूर्त रूपमा १ लाख ३८ हजार ६३३ रुपैयाँ संकलन गरेको जनाएको छ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको भौचर प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलाई हस्तान्तरण गर्दै संघका अध्यक्ष सन्तोष राना मगरले सहयोगबारे जानकारी गराउनुभएको हो।

विपद्को सुरुवाती चरणदेखि नै राज्यका निकाय तथा पीडित परिवारलाई सहयोग गर्दै आएको संघले नवलपुरमा फेला परेका शवको पहिचानका लागि आउने परिवारजन तथा आफन्तका लागि निःशुल्क खाना तथा आवासको व्यवस्थासमेत गरेको थियो।

संघले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वअन्तर्गत होटल व्यवसायीहरूलाई सहयोगमा सहभागी गराउँदै आएको जनाएको छ।

कावासोती- रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै कावासोती नगरपालिकाले यस वर्षको हरितालिका तीज पर्व सादगीपूर्ण रूपमा मनाउन अपिल गरेको छ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालले शुक्रबार अपिल जारी गर्दै विपद्का कारण धेरै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा अपूरणीय क्षति पुगेको अवस्थामा तीजका अवसरमा गरिने तडकभडकले पीडित परिवारमा थप असर पर्न सक्ने बताएका छन्। 
 
नगरपालिकाले सार्वजनिक स्थान, पार्टी प्यालेस लगायतका स्थानमा गरिने औपचारिक तथा अनौपचारिक तडकभडकसहितका कार्यक्रम नगर्न आग्रह गरेको छ। नगरपालिकाले तीज पर्वलाई आ–आफ्नो घरपरिवारमा मात्र सीमित राखी सादगी र सौहार्दपूर्ण रूपमा मनाउन अनुरोध गरेको हो। अपिलमा भनिएको छ, “यस संवेदनशील अवस्थामा नगरपालिकाले गरेको अपिललाई सकारात्मक रूपमा लिई पूर्ण पालना गरिदिनुहुन अनुरोध छ।”
 
साथै, नगरपालिकाले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बाढीमा परी बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

विनयी त्रिवेणी- विनयी त्रिवेणी गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (PAN) वितरणसम्बन्धी सेवा प्रवाह सुरु गरिएको छ। करदाता सेवामा सहजता, पहुँच र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाबाटै PAN सेवा उपलब्ध गराउन थालिएको हो। सोमबार आयोजित सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम गिरीको अध्यक्षता रहेको थियो। सेवा शुभारम्भ गाउँपालिका अध्यक्ष गिरी र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत युगल किशोर गौतमले संयुक्त रूपमा पहिलो PAN हस्तान्तरण गरी गर्नुभएको थियो। गाउँपालिकाबाटै PAN वितरण सेवा सुरु भएपछि स्थानीय नागरिक तथा व्यवसायीले स्थायी लेखा नम्बर लिनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसबाट करसम्बन्धी सेवा स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा प्राप्त गर्न सकिने गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चेतन पौडेललगायत स्थानीय व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। स्थानीय तहबाटै PAN वितरण सेवा सञ्चालनमा आएपछि व्यवसाय दर्ता तथा करसम्बन्धी प्रक्रियामा समेत सहजता पुग्ने विश्वास गरिएको छ। सेवा विस्तारसँगै गाउँपालिकाका नागरिकलाई करसम्बन्धी आधारभूत सेवाका लागि जिल्ला सदरमुकाम वा अन्य कार्यालयसम्म पुग्नुपर्ने समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रम र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नागरिकका प्रश्न तथा जिज्ञासा सुन्ने र सम्बन्धित पदाधिकारीबाट जवाफ दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीसहित जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय नागरिकहरूले नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह, योजना कार्यान्वयन तथा नागरिकका दैनिक सरोकारसँग जोडिएका विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए। नागरिकबाट उठाइएका प्रश्नको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित जनप्रतिनिधिले जवाफ दिनु भएको थियो । कार्यक्रममा नागरिकका प्रश्नलाई प्राथमिकताका साथ सम्बोधन गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवा अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।

सार्वजनिक सुनुवाइले स्थानीय सरकारका काम, सेवा र विकास गतिविधिबारे नागरिकले प्रत्यक्ष जानकारी लिन तथा आफ्ना गुनासा, सुझाव र प्रश्न सम्बन्धित पदाधिकारीसमक्ष राख्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी नागरिकहरूले सार्वजनिक सुनुवाइलाई औपचारिकतामा सीमित नराखी नागरिकका प्रश्न, सुझाव तथा गुनासालाई आगामी नीति, योजना र बजेट निर्माणमा समेत समेट्नुपर्ने धारणा राखेका थिए।

कावासोती – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा युवा उद्यमशीलता अवलोकन, प्रवर्द्धन तथा प्रेरणा भ्रमण कार्यक्रम सम्पन्न भएको छ।

कावासोती नगरस्तरीय युवा सञ्जालको आयोजना तथा कावासोती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा आयोजित कार्यक्रममा ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारासहित नगर क्षेत्रभित्र युवाहरूले सञ्चालन गरेका विभिन्न सफल तथा प्रेरणादायी व्यवसायको स्थलगत अवलोकन गरिएको हो।

युवा पुस्तालाई उद्यम तथा स्वरोजगारतर्फ आकर्षित गर्ने, सफल युवा उद्यमीका अनुभवबाट प्रेरणा लिने र स्थानीयस्तरमै सम्भावनाको खोजी गर्न प्रोत्साहित गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको आयोजकले जनाएको छ।

भ्रमणका क्रममा कावासोती–६ स्थित गौरादेवी कृषि फार्म, कावासोती–२ स्थित इन्टरनेसनल ब्युटीपार्लर फार्म, कावासोती–३ स्थित इन्द्रदेव दुनाटपरी उद्योग, कावासोती–१५ स्थित थारु गाउँ रिसोर्ट, कावासोती–१४ स्थित कामना नितु कपडा उद्योग तथा कावासोती–९ स्थित नवल मह उद्योगको अवलोकन गरिएको थियो।

अवलोकनका क्रममा व्यवसायीहरूले व्यवसाय सुरु गर्दाको अवस्था, सञ्चालनका क्रममा भोगेका चुनौती, संघर्ष, सफलता तथा प्राप्त उपलब्धिबारे सहभागी युवालाई जानकारी गराएका थिए। उनीहरूले सीप सिकेर बजारको मागअनुसार व्यवसाय सञ्चालन गर्न सके रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्न सकिने बताएका थिए।

कार्यक्रममा कावासोती नगरपालिका क्षेत्रका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत युवा विद्यार्थी, नगरस्तरीय युवा सञ्जालका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागी युवाहरूले व्यवसाय सञ्चालनको प्रक्रिया, चुनौती, बजार व्यवस्थापन तथा स्थानीयस्तरमा उद्यमशीलताको सम्भावनाबारे प्रत्यक्ष जानकारी लिएका थिए।

कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखाका राजन पाण्डे, कावासोती नगरस्तरीय युवा सञ्जालका अध्यक्ष पवन भोर्तेललगायत युवा, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। युवा दिवसलाई औपचारिक कार्यक्रममै सीमित नगरी युवालाई प्रत्यक्ष रूपमा उद्यम, व्यवसाय तथा स्वरोजगारसँग जोड्ने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। स्थानीयस्तरमै सम्भावना खोजेर व्यवसाय सञ्चालन गरिरहेका युवाका सफल अभ्यासको प्रत्यक्ष अवलोकनले नयाँ पुस्तालाई उद्यमशील बन्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

मध्यविन्दु – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब तीन करोड १६ लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक पूर्णकला चौधरीले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ६५ करोड २० लाख १२ हजार र पुँजीगततर्फ रु ३७ करोड ९६ लाख ५९ हजार विनियोजन गरिएको छ । कुल बजेटमध्ये सामाजिक विकासतर्फ सबैभन्दा बढी रु ४४ करोड १२ लाख ६१ हजार, पूर्वाधार विकासतर्फ रु ३५ करोड ८८ लाख ७४ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु १६ करोड ६८ लाख ७४ हजार, आर्थिक विकासतर्फ रु चार करोड ४२ लाख ३२ हजार तथा वन, वातावरण र विपद् व्यवस्थापनतर्फ रु दुई करोड चार लाख ३० हजार विनियोजन गरिएको छ । नगरसभामा प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार प्रवद्र्धन र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

कृषि तथा पशुपन्छी विकासका लागि रु दुई करोड छ लाख ५० हजार, युवा रोजगार, उद्यमशीलता प्रवद्र्धन तथा सीप विकास कार्यक्रमका लागि रु ६५ लाख तथा समग्र आर्थिक विकास क्षेत्रका लागि रु तीन करोड २१ लाख ३२ हजार विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवा केन्द्र र नगर अस्पतालको सुदृढीकरण, निःशुल्क औषधि, विशेषज्ञसहितका स्वास्थ्य शिविर, स्वास्थ्य बीमा तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य क्षेत्रका लागि नगर स्रोतबाट रु दुई करोड ३० लाख ८४ हजार विनियोजन गरिएको छ । शिक्षा क्षेत्रतर्फ विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिकमा थप सुविधा, निःशुल्क पाठ्यपुस्तक वितरण, डिजिटल शिक्षण प्रणाली विस्तार तथा ‘हाम्रो खुसी’ पाठ्यक्रमलाई थप प्रभावकारी बनाउने कार्यक्रम समेटिएको छ । शिक्षा तथा खेलकुद कार्यक्रमका लागि नगरतर्फबाट रु तीन करोड ७१ लाख ५२ हजार बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासतर्फ वडा स्तरीय योजनाका लागि रु नौ करोड ३३ लाख छुट्याइएको छ । रणनीतिक सडक स्तरोन्नति, कालोपत्रे, हाईमास्ट लाइट जडान, मध्यविन्दु स्तम्भ पूर्वाधार निर्माण, फलामे पुल, पार्क स्तरोन्नति, खानेपानी तथा विभिन्न सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । नगर प्रमुख भिमलाल अधिकारी ले सीमित स्रोत र बढ्दो वित्तीय दबाबका बाबजुद नगरवासीको प्रत्यक्ष जीवनस्तरसँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित बजेटले नगरको समृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्वमा दबाब बढिरहेका बेला पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमलाई केन्द्रमा राखेर बजेट निर्माण गरेका छौँ,” नगर प्रमुख अधिकारीले भन्नुभयो, “यसले समृद्ध मध्यविन्दु र खुसी नगरबासीको लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार गर्नेछ ।” उपप्रमुख पूर्णकला चौधरी ले बजेट निर्माण गर्दा सीमित स्रोत र असीमित आवश्यकताबीच सन्तुलन कायम गर्न खोजिएको बताउनुभयो ।

उहाँका अनुसार मानवीय मूल्यसहितको गुणस्तरीय शिक्षा, नागरिकको पहुँचमा भरपर्दो स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण तथा दिगो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । “नगरवासीको अपेक्षालाई सम्बोधन गर्ने गरी सामाजिक न्याय, समावेशी विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका छौँ,” उपप्रमुख चौधरीले भन्नुभयो, “यसले आर्थिक विकाससँगै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ ।”

चालु आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाको अनुमानित कुल आय रु एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार रहेकोमा हालसम्म रु ९३ करोड ७२ लाख ३५ हजार अर्थात् लक्ष्यको ८९ प्रतिशत आय प्राप्त भएको नगरपालिकाले जनाएको छ । सो अवधिमा कुल बजेटमध्ये रु ६८ करोड १२ लाख ९८ हजार खर्च भई ६४ दशमलव ७ प्रतिशत वित्तीय प्रगति हासिल भएको विवरण प्रस्तुत गरिएको छ । नगरसभाले प्रस्तुत बजेटमाथि छलफल गरी आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।