हुप्सेकोट-“जातीय भेदभाव तथा छुवाछुत उन्मूलनः स्थानीय तहको दायित्व र सामुदायिक प्रतिबद्धता” भन्ने नारासहित २०औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस हुप्सेकोट गाउँपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ।

वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गते यो दिवस मनाउने गरिन्छ। सोही अवसरमा हुप्सेकोट गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको हो।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सामाजिक अन्याय तथा विभेदविरुद्ध संघर्षरत व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सल्लाहकार सदस्य तथा भूमि आयोगका पूर्व जिल्ला सदस्य पूर्णप्रकाश सुनार, पूर्व जनप्रतिनिधि अमरसिंह विक, गाउँपालिका क्षेत्रबाट उत्पीडित समुदायका पहिलो चिकित्सक डा. बासुदेव नेपाली तथा समाजसेवी नवलसिंह दमाईलाई दोसल्ला, ढाका टोपी र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै मुक्ति समाजका केन्द्रीय सल्लाहकार सदस्य पूर्णप्रकाश सुनार, यमबहादुर विक, वीरबहादुर विक र भीमबहादुर सुनारले समाजमा अझै पनि छुवाछुत तथा जातीय विभेदका समस्या पूर्ण रूपमा अन्त्य हुन नसकेको बताएका थिए। उनीहरूले दिवसका अवसरमा गाउँपालिकाले दलित समुदायका भावना र समस्यालाई बुझ्ने प्रयासस्वरूप अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे।
उनीहरूले आगामी वर्षहरूमा दलित समुदायको क्षमता विकास, सशक्तीकरण तथा छुवाछुतमुक्त समाज निर्माणका लागि विशेष योजना र कार्यक्रम सञ्चालन गर्न गाउँपालिकासँग आग्रहसमेत गरेका थिए।
कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले विगतको तुलनामा जातीय विभेदका घटनामा कमी आए पनि सामाजिक चेतनामा अपेक्षित परिवर्तन आउन बाँकी रहेको बताउनुभयो। उहाँले समानता, सामाजिक न्याय र मानव मर्यादाप्रति सबै सरोकारवाला संवेदनशील हुनुपर्नेमा जोड दिँदै गाउँपालिकाले दलित समुदायको उत्थानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पूर्णसिंह राना मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा दलित समुदायका अगुवा, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
समानता, सम्मान र सामाजिक न्यायसहितको समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको कार्यक्रममा जातीय विभेद अन्त्यका विषयमा महत्वपूर्ण छलफलसमेत गरिएको थियो।









