दुम्किबास-नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्किबासस्थित विनयी खोला किनारमा सञ्चालन भइरहेको तेस्रो दुम्किबास सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा बाढीले ठूलो क्षति पुर्याएको छ । मोडर्न युवा क्लब नेपाल, विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा २०८३ वैशाख २९ गतेदेखि सञ्चालन हुँदै आएको महोत्सव स्थलमा शुक्रबार बिहान परेको वर्षापछि विनयी खोलाको बहाव बढ्दा आसपासका संरचना तथा सामग्री बगाएको हो ।
प्राप्त जानकारीअनुसार खोलाको बाढीले ११ वटा होटल तथा पसल बगाएको छ भने ४ वटा आइसक्रिम तथा पानी पसलमा पानी पसेर क्षति पुगेको छ । साथै ४ वटा गेम खेल्ने सामग्री, १ वटा जेनेरेटर र १ वटा स्टेज लगायतका सामग्री पनि बाढीले बगाएको जनाइएको छ । घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासी उद्धार तथा खोजी कार्यमा जुटेका थिए । इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा १० जना प्रहरी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सर्दीबाट सशस्त्र प्रहरी निरीक्षक गोरख सिंह भण्डारीको कमाण्डमा १० जना सशस्त्र प्रहरी, तथा विनयी त्रिवेणी गाउँपालिकाका नगर प्रहरी सहायक निरीक्षक विष्णु जिसीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको थियो ।











