
कावासोती – शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कावासोती–१ को १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको परिसरमा आयोजित साधारण सभा संस्थाका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षता तथा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूले उपभोक्तालाई २४सै घण्टा स्वच्छ, सर्वसुलभ र पर्याप्त खानेपानी वितरणको कामलाई निरन्तरता दिन आग्रह गरेका छन्। खानेपानी वितरणसँगै सरसफाइको क्षेत्रलाई पनि संस्थाले प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।



साधारण सभामा संस्थाका अध्यक्ष राजकुमार घिमिरेले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो। वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले खानेपानी मन्त्रालय तथा खानेपानी विभागसँग समन्वय गरी बृहत् खानेपानी आयोजना सञ्चालनका लागि नयाँ डीपीआर माग गर्ने बताउनुभयो।

संघीय सरकारबाट प्राप्त हुने बजेटबाट आवश्यक सोलुसन फिल्टर निर्माण गरी खानेपानी सञ्चालन गर्ने, प्रदेश सरकार तथा स्थानीय तहसँग बजेट माग गरी आवश्यक स्थान पहिचान गरेर पाइप विस्तार तथा भल्भ चेम्बर निर्माण गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, संस्थामा कार्यरत कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारीको बौद्धिक तथा क्षमता विकासका लागि अवलोकन भ्रमण, तालिम तथा गोष्ठी सञ्चालन गर्ने योजना पनि संस्थाले अघि सारेको छ।

आयोजना मर्मतसम्भारका लागि वार्षिक रूपमा प्रतिधारा ३ सय रुपैयाँका दरले मर्मतसम्भार कोषमा रकम संकलन गर्ने तथा सदस्यको मृत्यु भएमा उपलब्ध गराइने मृतक राहत कोषको रकम अबदेखि मृत्यु भएको ३५ दिनभित्र मात्र उपलब्ध गराउने कार्ययोजना रहेको अध्यक्ष घिमिरेले बताउनुभयो।
संस्थाले चालु आर्थिक वर्षमा १ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार श्रेष्ठ र प्रगति प्रतिवेदन सचिव लक्ष्मण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो। लेखा संयोजक तिलाराम भुसालले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।



कार्यक्रममा कावासोती–१ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर थापामगर, खानेपानी जिल्ला महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, खानेपानी तथा सरसफाइ डिभिजन इकाइ कार्यालय कावासोतीका प्रमुख इन्जिनियर सञ्जय कोइराला, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका इन्जिनियर सन्तोष अधिकारी, संस्थाका सल्लाहकार संयोजक अशोककुमार लम्साललगायत सल्लाहकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।











