कावासोती – मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेसँगै कावासोती नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्यको तयारी तीव्र बनाएको छ।

नगरपालिकाले आज सूचना जारी गर्दै असोज ८ देखि ११ गतेसम्म हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गरी द्रुत प्रतिकार्य टोली गठन गरेको जनाएको हो। टोलीमार्फत आवश्यक सूचना, सहायता तथा समन्वयका लागि सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारी तोकिएको नगरपालिकाले जनाएको छ।
आवश्यक सूचना तथा सहायताका लागि प्रशासन शाखा प्रमुख निरञ्जन केसी, स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र मल्ल, विपद् शाखा प्रमुख रञ्जित केसी, नगर प्रहरी प्रमुख शेरबहादुर विक र रेडक्रस प्रतिनिधि रेशम चापागाईंलाई सम्पर्क गर्न सकिनेछ।
नगरपालिकाले नदी तथा खोला तटीय क्षेत्रका वडा समितिसँग समन्वय गरी विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ। जोखिमका समयमा उद्धारका लागि डोरी, लाइफ ज्याकेट, पोर्टेबल लाइटलगायत आवश्यक सामग्री तत्काल उपलब्ध हुने व्यवस्था गरिएको जनाएको छ।
आपत्कालीन अवस्थामा उद्धार तथा विपद् व्यवस्थापनका लागि आकस्मिक मनसुन प्रतिकार्य बेस, चोरमारा, जिल्ला प्रहरी कार्यालय कावासोती तथा वन तथा पर्यावरण सुरक्षा गण, हात्तीखोरसँग समन्वय गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

त्यस्तै, खोला तथा नदी तटीय क्षेत्र नजिकका विद्यालयलाई विद्यार्थी तथा अभिभावकलाई सुरक्षित रहन सूचना प्रवाह गर्न आग्रह गरिएको छ। सम्भावित विपद्का बेला केही विद्यालयलाई आकस्मिक सेल्टरका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो।
नगरपालिकाका अनुसार वडा नं. ४ हसौरास्थित सरस्वती माध्यमिक विद्यालय, वडा नं. ५ को कालिका माध्यमिक विद्यालय, वडा नं. १२ का सन्तु देवी प्राथमिक विद्यालय र शान्ति निकुञ्ज माध्यमिक विद्यालय, वडा नं. १५ को चन्द्रेश्वरी माध्यमिक विद्यालय तथा वडा नं. १७ का सरस्वती माध्यमिक विद्यालय र त्रिभुवन बाल माध्यमिक विद्यालयलाई आकस्मिक सेल्टरका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले नदी, खोला तथा खोल्साको आसपास बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै जोखिमका बेला आवश्यक सहयोग तथा उद्धारका लागि स्थानीय संयन्त्रसँग समन्वय गर्न अनुरोध गरेको छ।
यसैगरी, नगरप्रमुख तथा उपप्रमुखले प्रयोग गर्ने सवारीसाधन र टिपरलाई उद्धार तथा विपद् व्यवस्थापनका लागि २४ घण्टा प्रयोग गर्न सकिने गरी चालकसहित तयारी अवस्थामा राखिएको छ। आवश्यक परे निजी क्षेत्रका हेभी मेसिन तथा उपकरणसमेत तत्काल परिचालन गर्न समन्वय गरिएको नगरपालिकाले जनाएको छ।
भारी वर्षाको समयमा नदी, खोला तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।










