नवलपुर- नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा २३५ मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भइरहेको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त शीत भण्डारबाट मध्यविन्दु नगरपालिका तथा आसपासका क्षेत्रका कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ।
६ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनामा भारत सरकारको करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग रहेको छ। सम्झौताअनुसार १४ महिनाभित्र अर्थात् २०८४ साल कात्तिक १० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।
शीत भण्डार सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सुरक्षित भण्डारण गर्न पाउनेछन्। यसबाट कृषि उपजको नोक्सानी कम हुनुका साथै उचित मूल्यमा बिक्री गर्न र बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

