नवलपरासी पूर्व – गैँडाकोटस्थित जयश्री सामुदायिक वनको नयाँ नेतृत्वले संस्थागत सुशासन, पारदर्शिता र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएको छ। नवनिर्वाचित अध्यक्ष दिनेशराज न्यौपानेले परम्परागत कार्यशैलीमा परिवर्तन गर्दै ‘बालेनशैली’मा परिणाममुखी काम गर्ने उद्घोष गर्नुभएको हो।
२४औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित न्यौपानेले आफूलाई सबै राजनीतिक दलको समर्थन रहेको उल्लेख गर्दै कुनै दल विशेषको नभई सबै उपभोक्ताको साझा अध्यक्ष भएर निष्पक्ष रूपमा काम गर्ने बताउनुभयो।
उहाँले सामुदायिक वनको कामकारबाहीलाई पारदर्शी र जवाफदेही बनाउन आवश्यक परे कार्यसमिति बैठकसमेत प्रत्यक्ष प्रसारण गर्ने घोषणा गर्नुभयो। संस्थाभित्र सुशासन कायम गर्दै उपभोक्ताले प्रत्यक्ष रूपमा गतिविधि र निर्णय प्रक्रियाबारे जानकारी पाउने वातावरण बनाउने उहाँको भनाइ छ।
वन संरक्षणलाई प्रविधिसँग जोड्ने योजना अघि सार्नुभएका अध्यक्ष न्यौपानेले फलफूल बगैँचा तथा नर्सरी स्थापना गर्ने बताउनुभयो। नर्सरीमा उत्पादन गरिएका बिरुवा उपभोक्तालाई निःशुल्क वितरण गर्ने, वन संरक्षणका संवेदनशील स्थानमा सीसी क्यामेरा जडान गर्ने तथा विभिन्न क्षेत्रमा जल पुनर्भरणका कार्यक्रम सञ्चालन गर्ने उहाँको योजना छ।
वनको संरक्षणसँगै त्यसलाई उत्पादन र आयआर्जनसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम अघि बढाउन लागिएको उहाँले बताउनुभयो।
यसैबीच, जयश्री सामुदायिक वनको २४औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नयाँ कार्यसमितिको अध्यक्षमा दिनेशराज न्यौपाने, उपाध्यक्षमा मायादेवी घिमिरे, सचिवमा सकुन्तला दवाडी, कोषाध्यक्षमा निर्मलराज रिमाल र सहसचिवमा तीर्थराज रिमाल निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा कुलप्रसाद आचार्य, देवीप्रसाद न्यौपाने, दुर्गादत्त पौडेल, शक्तिप्रसाद नेपाल, राधिका कार्की, संगिता घिमिरे, गंगाकुमारी तिमिल्सिना, गीता सिलवाल, नरमाया आले, कमला परियार, जनकबहादुर कार्की र सम्झना गौतम रहनुभएको छ। लेखा संयोजकमा बुद्धिसागर अधिकारी चयन हुनुभएको छ।
आइतबार सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष भीमबहादुर कुमाल, सचिव टेकप्रसाद आले र कोषाध्यक्ष पार्वती ढकालले नवनिर्वाचित पदाधिकारीलाई माइन्युट तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।
पदभार ग्रहणलगत्तै नयाँ कार्यसमितिले बैठक बसेर आफ्नो कार्यसम्पादनसमेत सुरु गरिसकेको छ।
शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक तारापति खरेल, वडा अध्यक्ष तेजप्रसाद घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीकी नगर सचिव अस्मिता घिमिरे, नेपाली कांग्रेसका नगर सभापति खेमराज सापकोटा, नेकपा एमालेका नगर कमिटी अध्यक्ष कृष्ण कँडेल, नेकपा माओवादीका नगर अध्यक्ष प्रकाश अधिकारी तथा सामुदायिक वनका पूर्व अध्यक्ष टोलनाथ घिमिरेलगायतले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य सूर्यप्रसाद पराजुलीले गर्नुभएको थियो।