नवलपरासी पूर्व – गैँडाकोटस्थित जयश्री सामुदायिक वनको नयाँ नेतृत्वले संस्थागत सुशासन, पारदर्शिता र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएको छ। नवनिर्वाचित अध्यक्ष दिनेशराज न्यौपानेले परम्परागत कार्यशैलीमा परिवर्तन गर्दै ‘बालेनशैली’मा परिणाममुखी काम गर्ने उद्घोष गर्नुभएको हो।
२४औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित न्यौपानेले आफूलाई सबै राजनीतिक दलको समर्थन रहेको उल्लेख गर्दै कुनै दल विशेषको नभई सबै उपभोक्ताको साझा अध्यक्ष भएर निष्पक्ष रूपमा काम गर्ने बताउनुभयो।
उहाँले सामुदायिक वनको कामकारबाहीलाई पारदर्शी र जवाफदेही बनाउन आवश्यक परे कार्यसमिति बैठकसमेत प्रत्यक्ष प्रसारण गर्ने घोषणा गर्नुभयो। संस्थाभित्र सुशासन कायम गर्दै उपभोक्ताले प्रत्यक्ष रूपमा गतिविधि र निर्णय प्रक्रियाबारे जानकारी पाउने वातावरण बनाउने उहाँको भनाइ छ।
वन संरक्षणलाई प्रविधिसँग जोड्ने योजना अघि सार्नुभएका अध्यक्ष न्यौपानेले फलफूल बगैँचा तथा नर्सरी स्थापना गर्ने बताउनुभयो। नर्सरीमा उत्पादन गरिएका बिरुवा उपभोक्तालाई निःशुल्क वितरण गर्ने, वन संरक्षणका संवेदनशील स्थानमा सीसी क्यामेरा जडान गर्ने तथा विभिन्न क्षेत्रमा जल पुनर्भरणका कार्यक्रम सञ्चालन गर्ने उहाँको योजना छ।
वनको संरक्षणसँगै त्यसलाई उत्पादन र आयआर्जनसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम अघि बढाउन लागिएको उहाँले बताउनुभयो।
यसैबीच, जयश्री सामुदायिक वनको २४औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नयाँ कार्यसमितिको अध्यक्षमा दिनेशराज न्यौपाने, उपाध्यक्षमा मायादेवी घिमिरे, सचिवमा सकुन्तला दवाडी, कोषाध्यक्षमा निर्मलराज रिमाल र सहसचिवमा तीर्थराज रिमाल निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा कुलप्रसाद आचार्य, देवीप्रसाद न्यौपाने, दुर्गादत्त पौडेल, शक्तिप्रसाद नेपाल, राधिका कार्की, संगिता घिमिरे, गंगाकुमारी तिमिल्सिना, गीता सिलवाल, नरमाया आले, कमला परियार, जनकबहादुर कार्की र सम्झना गौतम रहनुभएको छ। लेखा संयोजकमा बुद्धिसागर अधिकारी चयन हुनुभएको छ।
आइतबार सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष भीमबहादुर कुमाल, सचिव टेकप्रसाद आले र कोषाध्यक्ष पार्वती ढकालले नवनिर्वाचित पदाधिकारीलाई माइन्युट तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।
पदभार ग्रहणलगत्तै नयाँ कार्यसमितिले बैठक बसेर आफ्नो कार्यसम्पादनसमेत सुरु गरिसकेको छ।
शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक तारापति खरेल, वडा अध्यक्ष तेजप्रसाद घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीकी नगर सचिव अस्मिता घिमिरे, नेपाली कांग्रेसका नगर सभापति खेमराज सापकोटा, नेकपा एमालेका नगर कमिटी अध्यक्ष कृष्ण कँडेल, नेकपा माओवादीका नगर अध्यक्ष प्रकाश अधिकारी तथा सामुदायिक वनका पूर्व अध्यक्ष टोलनाथ घिमिरेलगायतले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य सूर्यप्रसाद पराजुलीले गर्नुभएको थियो।
काठमाडौं- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् ।
व्रतविधि
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए।
“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उनले भने ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।
२०४६ साल अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा फेरि सरकारले बिदा दिन सुरु गरेको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्ने गरेका छन् ।
कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व समापन हुने व्रत विधि छ ।