नवलपुर- हुप्सेकोट गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ। चीनमा सम्पन्न United Cities and Local Governments Asia-Pacific (UCLG ASPAC) को विस्तारित बैठकबाट पाण्डेले अध्यक्ष (President) को जिम्मेवारी प्राप्त गर्नुभएको हो। यस जिम्मेवारीसँगै पाण्डेले एसिया–प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको साझा मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नुभएको छ। UCLG ASPAC को आधिकारिक निर्णयअनुसार पूर्व अध्यक्ष डाकिला कार्लो कुआको निधनपछि रिक्त रहेको नेतृत्वमा पाण्डेलाई सन् २०२७ मा हुने ११औँ महाधिवेशनसम्मका लागि कार्यवाहक अध्यक्ष (Acting President) नियुक्त गरिएको हो। अक्टोबर ३० मा चीनको हाइकाउमा सम्पन्न क्षेत्रीय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।  UCLG ASPAC एसिया तथा प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यस संस्थामा अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु नेपालका स्थानीय सरकारहरूको अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। यसअघि सन् २०२५ मा दक्षिण तथा दक्षिणपश्चिम एसिया उपक्षेत्रको प्रतिनिधित्व गर्दै पाण्डे UCLG ASPAC को नेतृत्व तहमा पुग्नुभएको थियो।