मध्यविन्दु- मध्यविन्दु नगरपालिकाको आयोजनामा सञ्चालित ‘युवा उद्यमशीलता : सोचदेखि सफलतासम्म’ कार्यक्रमअन्तर्गत पहिलो दिन चोरमारा क्लस्टरका युवाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीको अध्यक्षता तथा नगरप्रमुख भीमलाल अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत कृष्णप्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा नगरप्रमुख अधिकारीले उद्यमशीलताको उद्देश्य, चरणबद्ध कार्ययोजना, नगरपालिकाले उपलब्ध गराउने सहजीकरण तथा स्थानीयस्तरमा उद्यमका सम्भावनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। सहजकर्ताका रूपमा ध्रुवकुमार श्रेष्ठ, राज कार्की र कृष्ण गुरुङ रहनुभएको थियो।
करिब २२० जना युवाको सहभागिता रहेको कार्यक्रमको उद्देश्य युवामा उद्यमशील सोचको विकास गर्नु, स्थानीयस्तरमा उद्यमका सम्भावना पहिचान गर्नु तथा उद्यम सञ्चालनका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको नगरपालिकाले जनाएको छ।
कार्यक्रमको पहिलो चरणमा युवाको रुचि, क्षमता र लगानीअनुसार उपयुक्त उद्यम छनोट गर्न सहजीकरण गरिनेछ। दोस्रो चरणमा रुचि र क्षेत्रगत आधारमा समूह विभाजन गरी सम्बन्धित विषयका विज्ञमार्फत सीप तथा क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गरिनेछ।
कार्यक्रमअन्तर्गत कात्तिक १८ गते बुधबार कोल्हुवा र अरुणखोला क्लस्टरका युवाहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
कावासोती- कावासोती नगरपालिका–१, हात्तीखोरस्थित पोखरीताल पर्यटकीय स्थलमा तिहारलाई लक्षित गरी लगाइएको सयपत्री फूल तयार भएको छ। एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको फूल तिहारका लागि ढकमक्क फुलेको छ। महाराजा मन्दिर धार्मिक समितिका अध्यक्ष मेघराज श्रेष्ठका अनुसार फूलखेतीका लागि एक लाख २१ हजार रुपैयाँभन्दा बढी खर्च गरिएको छ। तिहारसँगै विवाह, पूजा तथा अन्य शुभकार्यमा प्रयोग हुने सयपत्री फूल सुपथ मूल्यमा बिक्री गरिने उहाँले बताउनुभयो। फूल खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले ९८४७२४१०७२ नम्बरमा सम्पर्क गरी अर्डर गर्न सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।


नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन्। अनुभवको सम्मान, युवा ऊर्जा र महिला नेतृत्वको सशक्त उपस्थितिलाई जोड दिँदै अघि बढेकी सापकोटाको उम्मेदवारीलाई बदलिँदो समय र समाजको अपेक्षाअनुरूपको नेतृत्व प्रयासका रूपमा हेरिएको छ। समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी सापकोटा शैक्षिक चेतना, राजनीतिक अनुभव र व्यावहारिक नेतृत्व क्षमताको संयोजन भएकी व्यक्तित्व हुन्।
विगत दुई दशकदेखि नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो यात्रा सुरु गर्दै महिला संघ हुँदै नेपाली कांग्रेसको जिल्ला सदस्यसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी उनीसँग लामो राजनीतिक तथा संगठनात्मक अनुभव छ। राजनीतिसँगै उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय सापकोटाले आफ्नै नेतृत्वमा सफल विद्यालय सञ्चालन गर्दै शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेकी छन्। यसले उनको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता र सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गर्दछ। अग्रजहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै युवा पुस्ताको नवीन सोच तथा महिलाको नेतृत्व क्षमतालाई संगठन निर्माणमा जोड्ने उनको संकल्प छ।
सबल, समावेशी, गतिशील र एकताबद्ध कांग्रेस निर्माणलाई प्राथमिकता दिएकी सापकोटाले नयाँ सोच, साझा संकल्प र सशक्त संगठनका लागि सबैको साथ, विश्वास र समर्थनको अपिल गरेकी छन्। राजनीतिक अनुभव, उच्च शैक्षिक योग्यता, शैक्षिक उद्यमशीलता र महिला नेतृत्वको संयोजनसहित अघि बढेकी सम्झना सापकोटाको उम्मेदवारीलाई नेपाली कांग्रेस नवलपरासीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशनमा समयानुकूल, समावेशी र सक्षम नेतृत्व स्थापित गर्ने महत्वपूर्ण विकल्पका रूपमा हेरिएको छ।