
नवलपुर- एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसक्दा संक्रमितमाथि हुने लाञ्छना र भेदभाव अझै कायमै रहेको पाइएको छ। उपचारका क्रममा स्वास्थ्यकर्मीबाट समेत भेदभाव हुने र जटिल स्वास्थ्य समस्या भएका संक्रमितलाई अन्यत्र रिफर गर्ने समस्या रहेको बताइएको छ।
लुम्बिनी प्लसले कावासोतीमा आयोजना गरेको सरोकारवाला संस्थासँगको समन्वयात्मक बैठकमा एचआइभी एड्सका क्षेत्रमा भएका असल अभ्यास, समस्या तथा चुनौतीबारे छलफल गर्दै संक्रमितले उपचारदेखि सामाजिक जीवनसम्म विभिन्न समस्या भोग्दै आएको जानकारी गराइएको हो।
लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलका अनुसार एचआइभी संक्रमित भएको थाहा पाएपछि कतिपय स्वास्थ्यकर्मीबाट समेत भेदभाव हुने गरेको छ। शल्यक्रिया तथा जटिल स्वास्थ्य समस्या भएका संक्रमितलाई उपचार सम्भव हुँदाहुँदै अन्य जिल्लामा रिफर गर्ने प्रवृत्तिले थप समस्या भएको उहाँले बताउनुभयो।
आर्थिक रूपमा विपन्न र स्वास्थ्य अवस्था कमजोर भएपछि मात्र पहिचान हुने संक्रमितको उपचार व्यवस्थापनमा चुनौती रहेको पौडेलले बताउनुभयो। संक्रमित बालबालिका वयस्क भएपछि विवाहमा समस्या हुने तथा विवाहपछि बसाइँ सर्दा एआरटी औषधि सेवन र स्वास्थ्य संस्थासँगको सम्पर्क छुट्ने समस्या पनि रहेको उहाँको भनाइ छ।
पौडेलका अनुसार जिल्लामा हाल ४ सय ४६ जना एचआइभी संक्रमितले एआरटी औषधि सेवन गरिरहेका छन्। स्थानीय तहले संक्रमितका लागि आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।
लुम्बिनी प्लसले विगत २० वर्षदेखि नवलपरासी क्षेत्रमा एचआइभी संक्रमितको हेरचाह तथा सहयोग गर्दै आएको छ। संस्थाले उपचार समन्वय, एआरटी औषधिको निरन्तरता, स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श तथा पोषण र शैक्षिक सामग्रीमा सहयोग गर्दै आएको जनाएको छ।
बैठकमा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईं, डिल्लीराम तिवारी, मध्यविन्दु प्रादेशिक अस्पतालकी शान्ति भण्डारी, मध्यविन्दु नगर अस्पतालका नवीन अधिकारी, कावासोती नगरपालिका स्वास्थ्य शाखाका परशुराम भुसाल, स्वास्थ्य बीमा बोर्डका कृष्णबहादुर साउद, इन्सेक प्रतिनिधि दयाराम आचार्यलगायत सरोकारवालाको सहभागिता थियो।





