२०८३ श्रावण २ शनिबार

नवलपुर, असार १८– पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ७ मा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित नगदेबाली प्रविधि अनुकूल तथा व्यवसायीकरण परियोजना को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

परियोजनामार्फत उखु तथा बेसार खेतीको विस्तार र व्यवसायीकरणका लागि किसानलाई समूहमा आबद्ध गराई विभिन्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

कृषि शाखा प्रमुख शिष्टाचार जोशीका अनुसार उखु खेती गर्ने किसानलाई उन्नत जातको बीउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। उखु खेती हुने क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न साना सिँचाइ आयोजना अन्तर्गत डिप बोरिङ निर्माणसमेत गरिएको उहाँले बताउनुभयो।

परियोजनाअन्तर्गत कृषि मेसिनरी तथा औजारमा ५० प्रतिशत तथा मल, बीउ र प्राविधिक सहयोगमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै उखु र बेसार खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको जोशीले जानकारी दिनुभयो। हाल गाउँपालिकाको वडा नं. ६ र ७ मा उखु खेती तथा वडा नं. १, २, ३ र ४ मा बेसार खेती विस्तारको काम भइरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्रीले गाउँपालिकाले किसानको मागका आधारमा कृषि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले किसानका समस्या समाधान गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि कृषकलाई आकर्षित गर्ने योजना अघि बढाइने जानकारी दिनुभयो।

सहभागी किसानहरूले नवप्रवर्तन कार्यक्रममार्फत प्राप्त तालिम, अनुदान तथा प्राविधिक सहयोगले परम्परागत खेती प्रणालीबाट व्यवसायिक खेतीतर्फ उन्मुख हुन सहज भएको बताएका थिए। उनीहरूले यसबाट उत्पादन र आम्दानीसमेत वृद्धि हुने विश्वास व्यक्त गरेका थिए।

वडा नं. ७ का अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद चौलागाईं, शोभा क्षेत्री, कृषि शाखा प्रमुख शिष्टाचार जोशी, साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती बस्नेत, कृषि प्राविधिक पल्लवी थापा, मनोज चापागाईँलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।