
नवलपुर, असार १४ —स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३ नेपाल टेलिभिजनका संवाददाता धनु भुसाल लाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखामा स्थापना गरिएको यस पुरस्कार महासंघ नवलपुरका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीले आफ्ना स्वर्गीय पिता कृष्णलाल पराजुलीको स्मृतिमा स्थापना गर्नुभएको हो । क्रियाशिल पत्रकारलाई प्रदान गर्दै आएको उक्त पुरस्कार नेपाल पत्रकार महासंघ नवलपुरको चौथो वार्षिक साधारण सभाको अवसरमा यस वर्ष भुसाललाई प्रदान गरिएको हो ।
महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलका अनुसार पुरस्कारमा नगद रु. ५ हजार ५ सय ५५, दोसल्ला तथा ताम्रपत्र प्रदान गरिएको छ ।
त्यसैगरी, महासंघमा स्थापना गरिएको भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कार बाट गोरखापत्र दैनिकका पत्रकार बोमलाल गिरी सम्मानित भएका छन् । नवलपुरमा रहेर पत्रकारिता गर्दै आएका गिरीलाई प्रदान गरिएको उक्त पुरस्कार युवा उद्यमी तथा पत्रकार सागर पोख्रेल ले आफ्ना माता–पिताको नाममा स्थापना गरेका हुन् ।
यसैगरी, महासंघले हरेक वर्ष प्रदान गर्दै आएको क्रियाशील पत्रकारिता पुरस्कार बाट विजय एफएमका पत्रकार स्टेशन म्यानेजर श्रीधर उपाध्याय पुरस्कृत भएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा महासंघ नवलपुरका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुली लाई समेत सम्मान गरिएको थियो। पराजुली २०५६ सालदेखि नवलपुर तथा साविक नवलपरासी क्षेत्रमा विभिन्न सञ्चार माध्यममार्फत सक्रिय पत्रकारितामा संलग्न रहँदै आएका छन्।





