नवलपुर- नवलपुरको देवचुली नगरपालिका–१३ निवासी प्राध्यापक डा. उमाकान्त शर्मा पौडेलले ३५ वर्षको अध्ययन र अनुसन्धानपछि तयार पार्नुभएको ‘पौराणिक सुभाषित संग्रह’ नामक ग्रन्थ विमोचन गरिएको छ।
आफ्नै चौरासी पूजाको अवसर पारेर निवासमै आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञका बीच सोमबार ग्रन्थ विमोचन गरिएको हो।
नेपाल सन्त समाज एवं हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश स्वामी श्री १००८ ज्ञानानन्द सरस्वती महाराज र स्वामी जगन्नाथाचार्यले संयुक्त रूपमा ग्रन्थको विमोचन गर्नुभएको हो।


आफ्ना बुवा र हजुरबुवा पुराणका विद्वान् भएकाले उहाँहरूबाट प्राप्त प्रेरणाले ग्रन्थ तयार गर्न सफल भएको लेखक डा. पौडेलले बताउनुभयो।
बुवा, हजुरबुवा तथा अग्रजहरूले लेखेका १८ पुराण, उपपुराण, मनुस्मृति र महात्म्य ग्रन्थहरूको ३५ वर्षसम्म अध्ययन गरेर सर्वसाधारणले समेत बुझ्न सक्ने सरल भाषामा कृति तयार पारिएको उहाँको भनाइ छ।

पुराणमा समेटिएका उत्कृष्ट श्लोक, आहार–विहार, धर्मकर्म, पूजापाठ र सभ्यतासँग सम्बन्धित विषयलाई सरल रूपमा प्रस्तुत गर्न सके वर्तमान पुस्तासँगै भावी पुस्ताका लागि पनि उपयोगी हुने विश्वासका साथ ग्रन्थ तयार गरिएको उहाँले बताउनुभयो।
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. षडानन्द पौडेलले संस्कृत भाषा नबुझ्ने पाठकलाई लक्षित गरी ग्रन्थमा नेपाली भाषामा समेत अनुवाद गरिएको बताउनुभयो। उहाँले सबै पुराण, उपपुराण र महात्म्यबाट सार ग्रहण गरी समग्र पूर्वीय वाङ्मयको निचोड प्रस्तुत गरिएको कृतिका रूपमा यसको चर्चा गर्नुभयो।

३५ वर्ष लगाएर सङ्कलन तथा अध्ययन गरिएका सामग्रीलाई अनुवाद गरी पुस्तकको अन्तिम रूप दिन थप दुई वर्ष लागेको लेखक पौडेलले जानकारी दिनुभयो।
९ सय ६६ पृष्ठको ग्रन्थमा ५ हजार ५ सय श्लोक समेटिएका छन्। विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको यस ग्रन्थसँगै लेखक पौडेलको जीवनी समेटिएको ‘जीवन सन्दर्भ’ पुस्तकसमेत विमोचन गरिएको छ।
वि.सं. २००२ साल भदौ १३ गते जन्मनुभएका पौडेलले आफ्नो लामो अध्ययन, अनुसन्धान र अनुभवलाई ग्रन्थका रूपमा सार्वजनिक गर्नुभएको हो।

