कावासोती- पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँ तर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार बस दुर्घटनामा परी ३३ जना घाईते भएका छन । घाइतेमध्ये एक जनाको अवस्था मध्यम भएपछि थप उपचारका लागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–११ का शिवदत्त रानालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको हो ।
अन्य घाईतेको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुने अन्यमा दार्चुला, बैतडी, कैलाली, डडेल्धुरा, कञ्चनपुर, डोटी, अछाम र धनुषा जिल्लाका यात्रु रहेका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बसका चालक कैलाली लुम्कीचुवा नगरपालिका वडा नम्बर १० का ठग्गराम डगौरा थारुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।